क्यासिलासको नजरमा मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट, बताए यस्तो कारण !

एजेन्सी – रियल म्याड्रिड तथा स्पेनका पूर्व गोलरक्षक इकर क्यासिलासले उत्कृष्ट बन्नको लागि क्रिस्टियानो रोनाल्डोले धेरै नै मिहिनेत गरेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्दै क्यासिलासले यस्तो बताएका हुन्।

उत्कृष्ट बन्नको लागि क्रिस्टियानो रोनाल्डोले धेरै नै मिहिनेत गरेको र त्यहि कारणले गर्दै आफू मेस्सी भन्दा रोनाल्डोलाई उत्कृष्ट मान्ने क्यासिलासले बताए। व्यावसायिक खेलमा मेस्सी भन्दा रोनाल्डो बढी प्रभावशालि रहेको उनको भनाई छ।

“उत्कृष्ट बन्ने चाहनाले नै क्रिस्टियानोलाई अहिलेको ठाउँमा पुर्यायो। अहिलेको अवस्थामा पुग्न उनले गर्न सम्म दुख गरेका छन्।”,एक अन्तर्वार्तामा क्यासिलासले भने।

मेस्सी प्राकृतिक रुपमै उत्कृष्ट खेलाडी रहेको र प्रतिभा सहित जन्मिएको भएपनि आफ्ना लागि रोनाल्डो नै उत्कृष्ट रहेको उनले स्पष्ट पारे। आफ्नो खेल शैलीमा लगातार सुधार गरेकै कारण रोनाल्डो अहिले विश्वको उत्कृष्ट खेलाडीको रुपमा उदाएको उनको भनाई छ। क्यासिलासले दुवै खेलाडीलाई अभूतपूर्व खेलाडीहरुको संज्ञा दिए।

“यदि मेस्सीसँग क्रिस्टियानोलाई दाँज्नुपर्यो भने, म क्रिस्टियानोलाई उत्कृष्ट र प्रभावशाली मान्छु। क्रिस्टियानोले जे गरेका छन् र जे हाँसिल गरेका छन्, त्यसको आधारमा क्रिस्टियानोलाई उत्कृष्ट मान्छु।”,उनले भने,”मेस्सी प्राकृतिक रुपमै प्रतिभा भएका खेलाडी हुन्। तर क्रिस्टियानोले मिहिनेत गरेर आफूलाई सुधारेका हुन्।”

क्रिस्टियानो बाहिर देखिए भन्दा धेरै फरक रहेको पनि उनले बताए। रोनाल्डो देख्दा केहि अहंकारी देखिएपछि वास्तविकतामा भने त्यस्तो नरहेको उनले जिकिर गरे।

“क्रिस्टियानोलाई नजिकबाट नचिन्नेहरु उनलाई केहि मूर्ख र अहंकारी मान्छ्न्। तर वास्तविक रुपमा उनी धेरै फरक छन्। मैले जति सम्म उनलाई चिनेको छु, उनी त्यसको ठिक विपरित छन्।”,उनले भने।

प्रकाशित : आइतबार, असोज २५, २०७७१६:३२

रोनाल्डो ल्याउने पीएसजीको योजना कायमै !