नेपाली नागरिकता लिएका भारतीय नागरिकको अवैध धन्दा, दुई अर्बको मुद्दा दर्ता !

काठमाडौं । एक भारतीय नागरिकले नेपाली नागरिकता लिएर सुनको अवैध कारोबार गरेको खुलेको छ । सुनचाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरी राजस्व चुहावट गरेको अभियोगमा पक्राउ परेका भारतीय नागरिक सुनिल सोनी (सुनिल सुनार) विरुद्ध मुद्दा दर्ता भएपछि उनीसँग नेपाली नागरिकता रहेको रहस्य खुलेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

राजस्व अनुसन्धान विभागले सुनिलविरुद्ध २ अर्ब ३९ करोड ५५ लाख १५ हजार ९ सय ४३ रुपैयाँ बिगो कायम गरी बुटवलस्थित उच्च अदालत तुल्सीपुरमा मुद्दा दर्ता गरेको छ । भारतीय नागरिक सोनीले सुनिल सुनारको नाममा नेपाली नागरिकताको प्रमाणपत्र लिएको खुलेको छ । विभागले मुख्य कारोबारी सुनिल तथा मतियार अमित परियारसहितबाट २ अर्ब ३९ करोड ५५ लाख १५ हजार ९ सय ४३ रुपैयाँ बिगो असुली, जरिवाना तथा कैद सजायको मागदाबी गरेको छ ।

सोनी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ मा सञ्चालित सोनी ज्वेलर्सको प्रोपाइटर तथा सोनी गोल्ड एन्ड सिल्भर प्रालिका मुख्य सञ्चालक हुन् । उनले सिद्धार्थनगर नगरपालिका–६ का अमित परियारसँग मिलेर सुनचाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरी राजस्व चुहावट गर्ने गरेको पाइएको विभागले जनाएको छ । विशेष सूचनाको आधारमा विभागको कार्यालय बुटवलबाट खटिएको टोलीले गत असार ३० गते बुटवल महानगरपालिका–११ स्थित चौराहाबाट सोनीको कारभित्र बोरामा लुकाइछिपाइ राखेको नगद र निजको साथमा रहेको मोबाइलसमेत बरामद गरी निजलाई पक्राउ गरेको थियो ।

पक्राउपछि गरिएको अनुसन्धानबाट भारतीय नागरिक सोनीले सुनचाँदीको अवैध आयात निर्यात तथा बिक्री कारोबार गर्ने गरेको तथा मोबाइलको माध्यमबाट विभिन्न व्यक्तिहरूसँग कारोबार गर्ने गरेको खुलेको छ । कारोबारस्थलबाट बरामद गरिएका बैंक दाखिला भौचर, बैंक स्टेटमेन्ट र मोबाइलबाट प्राप्त बैंक भौचरका आधारमा विभिन्न व्यक्तिलाई रकम भुक्तानी दिएको लगायत प्रमाण विभागले फेला पारेको छ ।

‘बरामद गरिएको प्रमाणका आधारमा निजले बैंक तथा भन्सार विन्दुबाहेक अन्य बाटोबाट सुनचाँदी चोरीपैठारी गरी अवैधरूपमा बिक्री गर्ने, सोबाट प्राप्त रकमलाई नेपाली तथा विदेशी मुद्रामा परिणत गरी विभिन्न व्यक्तिलाई भुक्तानी दिने र लिने गरेकोले अवैध सुनचाँदीको चोरीपैठारी निकासी गरी कारोबार गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ (क) र (ग) बमोजिम राजस्व चुहावट कसूर गरेको पुष्टि हुन आएको छ’, विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : मङ्गलबार, असोज २७, २०७७०९:५७

काठमाडौँमा कोरोना संक्रमितले अस्पतालमा बेड पाउनै छाडे !