काठमाडौँ – समाजमा विद्यमान जातीय विभेद विरुद्ध समता फाउन्डेशनले निर्माण गरेको ‘जातको प्रश्न’ नामक टेलिभिजन कार्यक्रमलाई विवादमा पारिएको प्रति फाउन्डेशनले ध्यानाकर्षण व्यक्त गरेको छ।
सोमबार एक विज्ञप्ति निकाल्दै फाउन्डेशनले कार्यक्रम प्रशारण भइरहेकै बेला समता फाउन्डेशनको लोगो र कार्यक्रम प्रस्तोता राजेश हमालको फोटोलाई समेत दुरुपयोग गरेर सामाजिक सञ्जालमा गलत अभिव्यक्ति राखेर अफवाह फैलाइएको प्रति ध्यानाकर्षण व्यक्त गरेको हो।
विज्ञप्ति मार्फत फाउन्डेशनका कार्यकारी अध्यक्ष प्रदिप परियारले जातीय विभेदसम्बन्धी घर–घरमा संवाद सुरुवात गर्नु नै सो टेलिभिजन कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रष्ट पारेका छन्।
“यस कार्यक्रममा कुनै निश्चित जात, धर्म, लिंग, क्षेत्रप्रति कुनै पनि प्रकारको पूर्वाग्रह नराखेको स्पष्ट गर्न चाहन्छौं। कार्यक्रमबारे भएका समालोचनात्मक तथा रचनात्मक सल्लाह र सुझावलाई हामी सदैव स्वागत गर्दछौँ ।”,परियारले विज्ञप्ति मार्फत भनेका छन्।
साथै उनले सामाजिक संजालमा सार्वजनिक गरिएका पोस्टर समता फाउन्डेशनले नबनाएको र त्यसमा संस्थाको कुनै संलग्नता नरहेको समेत स्पष्ट पारेका छन्।
“अनधिकृत रुपमा संस्थाको लोगो र व्यक्तिको फोटो प्रयोग गरी पोस्टर बनाइ भ्रम फैलाउनु नेपाल सरकारको साइबर कानुनबमोजिम दण्डनीय क्रियाकलाप भएको तथ्यबारे ध्यानाकर्षण गराउँदै सम्बन्धित सबैलाई सचेत हुन अनुरोध गर्दछौँ। नेपाल सरकारको प्रचलित नीति–नियम र कानुन बमोजिम विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्य र सहयोगमा सञ्चालन भएका परियोजना तथा कार्यक्रमहरु पारदर्शी ढंगले सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वलाई संस्थाले प्राथमिकतासाथ बहन गर्दै आएको छ ।”,विज्ञप्तिमा भनिएको छ।