रोनाल्डो-एम्बाप्पे सट्टापट्टाको चर्चा !

एजेन्सी – क्रिस्टियानो रोनाल्डो र किलियन एम्बाप्पे सट्टापट्टा गर्ने विषयमा युभेन्टस र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच संवाद चलेको छ।

विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार रोनाल्डोमा चासो देखाइरहेको पीएसजी र युभेन्टस बीच खेलाडी सट्टापट्टाको विषयमा केहि समय देखि संवाद चलेको हो। एम्बाप्पे पाएको खण्डमा रोनाल्डोलाई पीएसजी पठाउन युभेन्टस राजि भएको इटालीबाट प्रकाशित हुने टुट्टोस्पोर्ट्सले दावी गरेको छ।

टुट्टोस्पोर्ट्स सहित विभिन्न संचार माध्यमहरुले यस विषय बारे समाचार सम्प्रेषित गरेपछि केहि संचार माध्यम भने यस्तो असम्भव रहेको बताउँछन्। हाल एम्बाप्पे भन्दा धेरै नै साप्ताहिक पारिश्रमिक बुझिरहेका रोनाल्डोलाई पीएसजीले ल्याउने कुरामा शंका व्यक्त गर्छन्।

३५ वर्षीय रोनाल्डो अहिले युभेन्टसमा हप्ताको ५ लाख ४० हजार युरो आसपास पारिश्रमिक बुझिरहेका छन्। जबकी एम्बाप्पेको पारिश्रमिक पिएसजीमा हप्ताको ३ लाख ७५ हजार युरो आसपास छ।

यसरी एम्बाप्पे भन्दा धेरै पारिश्रमिक बुझिरहेका रोनाल्डोलाई ल्याएर आर्थिक बोझ थप्ने पक्षमा पीएसजी नरहेको केहिको दावी छ। तर, विगत हेर्ने हो भने पीएसजी खर्च गर्न पछि नहट्ने कल्बको रुपमा देखिएको छ।

रोनाल्डो माथि पीएसजीले चासो देखाएको यो पहिलो पटक भने होइन। यस भन्दा अगाडी पनि रोनाल्डो पीएसजी जाने विषयमा चर्चा चलिसकेको छ। यस्तै एम्बाप्पेले पनि पीएसजी छाड्ने बताइसकेका कारण अहिले उनको अबको गन्तव्य कता हुन्छ भन्ने कुरामा सबैको चासो छ। उनी रियल म्याड्रिड, युभेन्टस, लिभरपुल जस्ता क्लब जान सक्ने अनुमान गरिन्छ।

प्रकाशित : बिहिबार, असोज २९, २०७७२१:५७

‘मेस्सी र मेरो सम्बन्ध एक विवाहित जोडी जस्तै छ’ – अगुएरोले