चीनको लागि जासुसी गरेको भन्दा पक्राउ गरिएका नेपालीबारे भारतले जानकारी दिएन !

नयाँदिल्ली — दिल्ली प्रहरीको विशेष इकाइले गत सेप्टेम्बर १९ (असोज ३) मा पत्रकार सम्मेलन गरेर भारतको राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य सूचना विदेशीलाई दिएको आरोपमा पत्रकार राजीव शर्मालाई पक्राउ गरेको औपचारिक जानकारी दियो । यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ।

ती गोप्य सूचना प्राप्त गर्न शर्माका ‘मतियारको भूमिका खेलेका’ दुई विदेशीलाई पनि पक्राउ गरिएको प्रहरीले सुनायो । पक्राउ परेका दुई विदेशीमा क्विङ सी नामकी चिनियाँ महिला र उनका सहयोगी नेपाली नागरिक राज भनेर चिनिने शेरसिंह बोहरा भनी खुलाइएको थियो । उनीहरूमाथि भारतविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा दायर गरिएको छ । आरोप पुष्टि भए सरकारी गोपनीयता कानुनबमोजिम १४ वर्षसम्म कैद हुन सक्छ ।

दिल्ली प्रहरीको विशेष सेलले अन्य मुलुकका लागि सुराकी गरेको भन्दै पत्रकार शर्मालाई सेप्टेम्बर १४ मा पक्राउ गरेको थियो । उनीमाथि चिनियाँ जासुसहरूलाई गोप्य सूचना पुर्‍याएको आरोप लगाएको थियो । शर्मालाई चिनियाँ पत्रिका ग्लोबल टाइम्सलाई समाचार पठाउने नाममा सीमा सुरक्षासम्बन्धी संवेदनशील जानकारी दिएको आरोप लगाइएको छ । कर छल्न खोलिएका एमजेड फार्मेसी र एमजेड मल्स नामका दुई सेल कम्पनीबाट शर्मालाई समाचारको भुक्तानी हुँदै आएको प्रहरीको दाबी छ ।

दिल्ली प्रहरीका अनुसार ती दुई कम्पनीमध्ये औषधि सप्लायर्स कम्पनीका सञ्चालक बोहरा थिए । कम्पनीको सबै कारोबार दिल्लीको महिपालपुरस्थित कार्यालयबाट हुँदै आएको प्रहरीको भनाइ छ । बोहरालाई सुरुमा १४ दिन दिल्ली प्रहरी हिरासतमा राखिएको थियो । पछि अदालतको अनुमति लिएर उनलाई थप अनुसन्धानका लागि भन्दै तिहाड जेलमा राखिएको छ ।

कान्तिपुरलाई प्राप्त दस्तावेजअनुसार २५ वर्षीय बोहराको खास नाम शेरबहादुर बोहरा हो । उनी कञ्चनपुर जिल्लाको लक्ष्मीपुर निवासी हुन् । पारिवारिक स्रोतका अनुसार उनी आठ वर्षदेखि दिल्लीमा बस्दै आएका थिए । उनले डेढ वर्षअघि विवाह गरेकी श्रीमती गाउँमै बस्छिन् । बोहरा पक्राउ परेको केही दिनमै उनकी श्रीमतीले छोरी जन्माएकी थिइन् । सुरुमा पर्यटकलाई गाडीमा घुमाउने गरेका उनी दुई वर्षदेखि चिनियाँ कम्पनीमा आबद्ध थिए । दिल्ली प्रहरीले उनलाई कम्पनीको निर्देशक भएको दाबी गरे पनि उनको काम सामान्य कर्मचारीको मात्र रहेको परिवारको दाबी छ ।

प्रकाशित : शुक्रबार, असोज ३०, २०७७०७:२३

‘कोरोनाले जीवनभरीका लागि सुन्ने शक्ति नष्ट पारिदिन सक्ने’