ओलीले भने – ‘अर्बौ बाँडेर खाने काम हामी गर्दैनौं, गरेका पनि छैनौँ’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी परियोजनाका विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लगाएको आरोपलाई खारेज गरेका छन्।

शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै उनले बूढीगण्डकी परियोजनाका विषयमा भट्टराईले लगाएको आरोपलाई खारेज गरेका हुन्। प्रधानमन्त्री ओलीले भट्टराईको आरोपलाई गैरजिम्मेवार अभिव्यक्तिको संज्ञा दिए।

“केही गैरजिम्मेवार तत्वहरु गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु। निर्णय नभएको, कार्यारम्भ नभएको र हुन्छ–हुँदैन भन्ने निश्चितसमेत नभएको परियोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेतले अरब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको सुनेको छु।”,उनले भने। आफूहरु भट्टराईले आरोप लगाए जस्तो गैरजिम्मेवार हुन नसक्ने स्पष्ट पारे।

“हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं, त्यति अनुत्तरदायी हुन सक्दैनौं। देश र जनतालाई गलत सूचना दिएर भ्रममा पारेर, भड्काएर, गलत बाटोमा लाने कुचेष्टा र त्यस्ता हर्कत हामी गर्न सक्दैनौं।”,उनले भने। सरकारले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको निति लिएको ओलीले दावी गरे।

“भ्रष्टाचार र अपराधविरुद्धको शून्य सहनशिलतामा प्रहरीको भूमिका मुख्य हुन्छ सफल कार्यान्वयन र परिणाम निकाल्न।”,उनले भने,”नेपाल प्रहरीले नीतिको अक्षरशः पालना गर्दै दृढता र सक्रियता हासिल गर्न सक्छ भन्ने मैले विश्वास लिएको छु।”

ओलीले सचेत र जिम्मेवार भएर काम गर्न प्रहरीलाई निर्देशन मात्र दिएनन् लकडाउनदेखि अहिलेको परिस्थितिसम्म सरकारले गरेको निर्णय कार्यान्वयनमा नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा पनि गरे।

प्रकाशित : शुक्रबार, असोज ३०, २०७७११:४६

ओलीले अर्बौ बाँडेर खाने काम गर्दैनौं भनेपछि बाबुरामको यस्तो ‘च्यालेन्ज’ !