वीरगञ्ज । प्रहरीले लक डाउनकै बीचमा सुनकाण्डका तीन वटा घटना सार्वजनिक गरेको छ । काठमाडौं, बुटवल र वीरगञ्जमा भेटिएका सुन र पक्राउ परेका व्यक्ति भारतीय रहेको खुलेको छ । उनीहरूले नेपालको बाटो हुँदै सुन भारत लैजाने गरेको खुलेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
१३ साउनमा काठमाडौंमा भेटिएको सुन, बुटवलमा पक्राउ परेका भारतीय नागरिक सुनील सोनीबाट खुलेको रहस्य र शनिबार वीरगञ्जमा भेटिएको साढे २३ किलो सुनमा भारत कनेक्सन देखिएको छ । यी तीन वटै प्रकरणमा भारतीय नागरिक संलग्न रहेको देखिएको छ । कतिपय घटनामा नेपालीले नै सहयोग गरेपछि उनीहरूले तेस्रो मुलुकबाट विभिन्न मार्ग हुँदै नेपाल सुन ल्याउने र भारतमा गएर बेच्ने गरेका हुन् ।
शनिबार प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–५ मा रहेको गणे अपार्टमेन्टबाट २२ किलो ५ सय ग्राम सुन बरामद गरेको छ । सुन बरामद गरे पनि कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले जानकारी दिएको छ । विशेष सुराकीको आधारमा सो अपार्टमेन्टमा सुन रहेको थाहा पाएपछि प्रहरीले दुई दिनसम्म रेकी गरेको थियो । तर, सुन लिन र भएको अपार्टमेन्टमा कोही नआएपछि शनिबार दिउँसो एक बजेतिर प्रहरीले छापा मारेको थियो ।
प्रहरीका अनुसार सो नेपाली बजारमा १८ करोडभन्दा बढीको रहेको बताएको छ । सुन कहाँ र कहिले लैजाने भन्ने विषयमा केही नखुले पनि भारतीय नागरिकको भएको प्रहरीले जानकारी दिएको छ । भारतको विहारमा निर्वाचन भइरहेका बेला विधानसभाको सिटमा उठेका एक उम्मेदवारको भाइको सो सुन रहेको प्रहरीले दाबी गरेको छ । फ्ल्याट भारतको बिहार पूर्वी चम्पारण हरैया निवासी अशोक सिन्हाको रहेकाले उनी यो कारोबारमा संलग्न रहेको खुलेको छ ।
रक्सौल विधानसभाको सिटमा उम्मेद्वारी दिएका प्रमोद सिन्हाका भाइ अशोकको सुनको यो कारोबारमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताएको छ । भारतीय मिडियाले जनाएअनुसार प्रमोद सत्तारूढ भारतीय जनता पार्टी (बिजेपी) का उम्मेदवार हुन् । सुन सो अपार्टमेन्टको तेस्रो तल्लाको ३ सय ३ नम्बर फ्ल्याटमा भेटिएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् । अपार्टमेन्टबाट एक केजीको १३ वटा सुनको बिस्कुट, सुनको बिस्कुट मझौला ४६ पिसको ८ किलो ५ सय ७६ ग्राम र ६ सय ८१ ग्राम सुनको गहना बरामद गरेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै चाँदीका गरगहनासमेत २ केजी २ सय ६२ ग्राम बरामद गरेको छ ।
सो सुन भारत लैजाने वा नेपालमै बेच्ने तयारी भइरहेको हुन सक्ने प्रहरीको अनुमान छ । यद्यपि, अनुसन्धान जारी रहेकाले थप विवरणहरू पछि सार्वजनिक हुने बताइएको छ । यसअघि १४ साउनमा कमलादीमा पक्राउ परेको भनिएको १५ किलो सुन मध्ये आधा किलो मात्र सक्कली र अरू नक्कली भेटिएको थियो । सो सुन भारतमा लगेर बेच्ने तयारी भएको र प्रहरीको समेत संलग्नता देखिएको थियो । ३३ किलो सुन प्रकरणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी कम भए पनि अन्य मार्गबाट तस्करले सुन मगाउने गरेका छन् । नेपालमा चीन, हङकङ र खाडी मुलुकबाट सुन आउने गरेको छ ।