रियल म्याड्रिड शाख्तरसँग स्तब्द !

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूहको पहिलो खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड शाख्तर डोनेस्कसँग ३-२ ले पराजित भएको छ ।

घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा रियल म्याड्रिड शाख्तर डोनेस्कविरुद्ध खेलको पहिलो हाफमा नै ३-० ले पछि परेको थियो । पहिलो हाफमा कमजोर डिफेन्सका कारण शाख्तरको काउन्टर अट्याक रोक्न नसकेको रियलले दोस्रो हाफमा पुनरागमन गर्यो । आक्रमणमा सुधारिएको प्रदर्शन गरेपनि रियलले नतिजा परिवर्तन गर्न भने सकेन ।

खेलको २८ औं मिनेटमा टेटेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । मार्सेलोले गरेको ट्याकलको प्रयास असफल भएपछि भिक्टो कोर्नीएन्कोको पासमा टेटेले गोल गरेका थिए । त्यसअघि मार्लोसले वन भर्सेस वनको अवस्थामा गोल गर्न नसक्दा शाख्तरले अग्रता लिन सकेको थिएन ।

त्यसको तीन मिनेट नबित्दै रियल २-० ले पछि पर्यो । टेटेले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक कोर्टुवाले विफल पारेपनि रिबाउन्डमा राफेल भारानले बल बचाउन खोज्दा आफ्नै पोस्टमा छिरेको थियो ।

पहिलो हाफको ३ मिनेट बाँकी रहँदा शाख्तरले ३-० को अग्रता लियो । टेटेले पेनाल्टी क्षेत्रनजिक चलाखीपूर्ण मुभ बनाउँदै ब्याकहिल दिएपछि मानोर सोलोमोनले उत्कृष्ट फिनिस गर्दै घरेलु टोलीलाई स्तब्ध बनाए ।

दोस्रो हाफमा रियलले करीम बेन्जेमालाई मैदान प्रवेश गरायो । ५४ औं मिनेटमा लुका मोड्रीचले उत्कृष्ट गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार टप कर्नरमा छिर्दा गोलरक्षक एन्टोली तुर्बिनले बचाउने कुनै अवसर नै पाएनन् ।

त्यसको ५ मिनेटपछि वैकल्पिक खेलाडी भिनिसियस जुनिअरले गोल गर्दै खेललाई ३-२ को अवस्थामा पुर्याए । लुका जोभिचको स्थानमा मैदान प्रवेश गरेको केहि सेकन्डमा नै भिनिसियसले कप्तान मार्लोसको खुट्टाबाट बल खोस्दै पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए ।

८० औं मिनेटमा शाख्तारका कप्तान मार्लोसले गोल गरेपनि उक्त मुभ सुरु हुँदै अफसाइड भएकाले रेफ्रीले गोललाई मान्यता दिएनन् । इन्ज्युरी समयमा रियल म्याड्रिडले भालभेर्डेको गोलमा खेल बराबरी गरेपनि रेफ्रीले गोलरक्षक अगाडी उभिएको भिनिसियस अफसाइड रहेको निर्णय सुनाउँदै गोल रद्द गरे ।

यसै साता हुने एल क्लासिकोलाई ध्यानमा राख्दै प्रशिक्षक जिनेदिन जिदानले कमजोर टोली पहिलो रोजाइमा उतारेका थिए । यता शाख्तरको पनि चोट र कोरोना संक्रमणका कारण सिनियर टोलीका १० खेलाडी अनुपस्थित थिए ।

प्रकाशित : बिहिबार, कार्तिक ०६, २०७७०६:५६

मात्रा नमिले घातक हुन्छ आयुर्वेदिक औषधि !