एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका पूर्वव्यवस्थापक किके सेटिनले लियोनेल मेस्सी व्यवस्थापन गर्न कठिन खेलाडी रहेको बताएका छन्।
एक मिडियालाई अन्तर्वार्ता दिने क्रममा सेटिनले मेस्सीलाई प्रशिक्षण गर्ने कार्य कठिन भएको बताएका हुन्। मेस्सीको व्यवस्थापन तथा प्रशिक्षण अन्य खेलाडीको जस्तो सहज नभएको उनले बताए। मेस्सीलाई प्रशिक्षण गर्ने कार्य धेरै नै कठिन रहेको उनको भनाई छ।
“लियोलाई व्यवस्थापन गर्न गाह्रो छ। उक्त कठिनाईलाई बार्सिलोनाले वर्षौं देखि स्वीकारेको छ। उनीहरुले स्वीकारेका छन् र वर्षौं देखि झेलिरहेका छन् भने म को हुँ र त्यो बदल्ने?”,एक मिडियालाई अन्तर्वार्ता दिने क्रममा सेटिनले भने।
यस्तै मेस्सी सेटिनको नजरमा सर्वोत्कृष्ट खेलाडी पनि हुन्। मेस्सी जस्तै अन्य खेलाडी भएपनि वर्षौं देखि लगातार राम्रो प्रदर्शन गरिरहेकै कारण उनी सर्वोत्कृष्ट खेलाडीको रुपमा रहेको उनको भनाई छ।
“मलाई लाग्छ की मेस्सी इतिहाँसकै सर्वोत्कृष्ट खेलाडी हुन्।”,उनले भने,”यस बीचमा अन्य महान् खेलाडी नआएका होइनन्। तर मेस्सीको वर्षौं देखि जुन निरन्तरता छ, त्यस्तो अरुको छैन।” साथै मेस्सी अन्तर्मुखी स्वभावको रहेको पनि उनले बताए। मेस्सी खासै नबोल्ने उनको भनाई छ।
रियल बेटिसका समेत पूर्वव्यवस्थापक रहेका सेटिन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बार्सिलोना बायर्न म्युनिखसंग पराजित भएपछि बर्खास्त भएका थिए। त्यसक्रममा बार्सिलोना बायर्नसंग ८-२को गोल अन्तरले पराजित भएको थियो।