भिडालले भने – ‘रियललाई हराएर बार्सा समर्थकसँग खुसी साट्छु’

एजेन्सी – इन्टर मिलानका चिलियन मिडफिल्डर आर्टुरो भिडालले च्याम्पियन्स लिगमा रियल म्याड्रिडको खेलअघि आफ्नो अभिव्यक्ति दिएका छन् ।

यसै सिजन क्याटलान क्लब बार्सिलोना छाडेर इन्टर पुगेका भिडालले गत सिजन दुवै एल क्लासिकोमा जित हासिल गर्न सकेका थिएनन् । च्याम्पियन्स लिगमा निकै संघर्ष गरिरहेको रियलमाथि इन्टर थप दबाब दिने योजनामा हुनेछ । इन्टर आफैंलाई पनि अर्को चरणमा छनोट हुन यो नतिजा महत्त्वपूर्ण छ ।

भिडाल आफैं भने खेलको लागि निकै उत्साहित रहेको बताउँछन् । ‘म खेलको लागि निकै उत्साहित छु । खेल राम्रो पनि हुनेछ,’ उनले भने, ‘मैले बार्सिलोनामा दुई वर्ष बिताएँ । त्यसैले पनि मंगलबार जित हासिल गरेर बार्सिलोना र इन्टरका समर्थकसँग खुसीयाली मनाउन चाहन्छु ।’

च्याम्पियन्स लिगमा भिडाल सम्मिलित बयार्ण म्युनिख सन् २०१७ र २०१८ मा लगातार दुई सिजन रियल म्याड्रिडसँग नै पराजित भएको थियो । गत सिजन भने भिडालको च्याम्पियन्स लिग यात्रा बायर्न म्युनिखसँग ८-२ को हारपछि रोकिएको थियो । बार्सिलोनामा रोनाल्ड कोम्यानको आगमनपछि उनले क्लब छाड्नुपरेको थियो ।

‘म यहाँ खुसी छु र प्रशिक्षकले भनेको भूमिका निर्वाह गर्छु । पहिला म गोल गर्थें तर अहिले मैले टोलीको आवश्यकता अनुसार मिहिनेत गरिरहेको छु,’ उनले भने,’ हाम्रो लागि जुन प्रतियोगिता खेलेपनि हरेक खेल फाइनलसरह हो । रियलविरुद्ध खेल पनि अर्को एउटा फाइनलको रुपमा लिएका छौं ।’

भिडालले गत सिजन अन्त्यमा बायर्नले च्याम्पियन्स लिग जित्दा भने खुसी लागेको बताए । ‘ अघिल्लो सिजन रियलसँग दुई खेल खेल्दापनि जित हासिल गर्न सकिएन,’ उनले थपे, ‘च्याम्पियन्स लिगमा भने बायर्नले जितेपछि खुसी भएको थिएँ ।’

प्रकाशित : मङ्गलबार, कार्तिक १८, २०७७१०:३६

हालान्ड रियल म्याड्रिड नभई यस क्लब जाने, पूर्वक्लबका प्रमुखले गरे यस्तो खुलासा !