जुम्ल्याहा दाजुभाइको भविष्य उज्ज्वल बनाउँदै मनकारी जुनामाया

बाबुआमाले सानैमा छाडेर गएपछि हजुरआमाको संरक्षणमा रहेका जुम्ल्याहा दाजुभाइको अभिभावक बनेर तनहुँकी एक शिक्षिकाले उदाहरणीय कार्य गर्दै आउनुभएको छ । भानु नगरपालिलका–२ रिठ्ठाबोट निवासी शिक्षिका जुनामाया कुमालले जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण सुनारको अभिभावक बनेर पढाइमा लाग्ने सबै खर्चमा सहयोग गर्दै आउनुभएको हो ।

सुस्तमनस्थितिका बाबुआमा दुई छोरालाई छाडेर गएपछि उनीहरुको बिचल्ली भएको थियो । विगतका वर्षदेखि नै उनीहरु लमजुङ भोटेओढारमा एक घरमा हलिगोठालो बसेर काम गर्दै आएको बुझिएको छ । कक्षा २ मा पढ्दै गरेको अवस्थामा अचानक दाजुभाइ विद्यालयमा पढ्न आउन छाडेपछि ती बालकको घरमा पुग्दा दयनीय अवस्था देखेपछि आफूले बालकद्वयको उज्ज्वल भविष्य बनाउने योजनाका साथ अभिभावकत्व लिएको शिक्षिका जुनमायाले बताउनुभयो ।

बाबुआमा छाडेर गएपछि केही समय हजुरआमा माया सुनारले उनीहरुलाई जेनतेन गरी पालपोषण गर्नुभएको थियो । सुकुम्बासी जग्गामा रहेको कच्ची झुप्रो घरको पनि पछाडिबाट पहिरो जाने खतरामा पुगेकाले चार÷पाँच आना जग्गा दिएर भए पनि आफैँले घर बनाएर राखिदिने सोच बनाएको शिक्षिका जुनामायाले बताउनुभयो । दशैँमा आफ्नै छोरासरह बनाएर टीका लगाउँदै आएको छु । उहाँले भन्नुभयो, “घरमै लगेर पाल्छुभन्दा उनका हजुरआमाले लैजान दिनुभएन ।”

घरमा बुभ्mदा कापी, कलम, विद्यालय पोशाक किन्ने रकम नुहँदा विद्यालय नगएको थाहा पाएपछि सहयोग गर्न थालेको उहाँले बताउनुभयो । भानु नगरपालिका–३ खहरेस्थित मस्र्याङ्दी आधारभूत विद्यालयको शिक्षिका जुनामायाले कक्षा ८ सम्म आफूले पढाउँदै आएको विद्यालयमै राखेर पढाउनुभएको थियो ।

जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण अहिले भानु नगरपालिका–२ नारेश्वरटारस्थित शहीद होमराज लोहनी शारदा सदन माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छन् । शिक्षिका जुनमायाले अहिलेको दशैँमा जुम्ल्याहा दाजुभाइलाई चाहिने कापी, कलम, नयाँ कपडा, मोबाइल, घरमा चाहिने खाद्यान्नलगायतका सामग्री घरमै उपलब्ध गराइदिनुभएको छ । उनीहरुले पढ्न चाहे स्नातकोत्तरसम्मको अध्ययनका लागि सहयोग गर्ने योजना छ । उहाँले भन्नुभयो, “बाबुआमाले सानैमा छाडेर गएपछि वृद्धा हजुरआमाको संरक्षणमा रहँदै आएका थिए र अहिले पनि उनैको साथमा छाडिदिएको छु ।”

आफूले घरमा लगेर राखेर पढाउँछु भन्ने सोच बनाएको तर बूढी हजुरआमाले लैजान नदिएपछि आमाको साथमा नै छाडिदिएको उहाँले बताउनुभयो । “बेला बेलामा उनको घरमा गएर उनीहरुको रेखदेख र सुझाव, सल्लाह प्रदान गर्ने गरेको छु”, उहाँले भन्नुभयो, “दुवै जनाको स्वभाव राम्रो र अध्ययनमा लगनशील छन् ।”

आर्थिक अवस्था कमजोर भएकाले आर्थिक कठिनाइले अध्ययन छुटाउनुपर्ने अवस्था आएपछि ती शिक्षिकाले दुई दलित बालकको अभिभावक बनेर विगत आठ वर्षदेखि अध्ययनका लागि सहयोग गर्दै आउनुभएको हो । व्यक्तिगत खर्चमा दुई बालकको अध्ययनमा सहयोग गर्दै आउनुभएपछि यतिबेला गाउँघरमा सबैले जुनामायाको प्रशंसा गर्न थालेका छन् ।

‘काम गर्नु त शिक्षिका जुनामायाको जस्तो पो’ भनेर सबैले प्रशंसा गर्ने गरेका छन् । “यसले मलाई थप हौसला मिल्नुका साथै असहाय दुई बालकलाई पढाइदिन पाउँदा मनमा आनन्द मिलेको छ”, उहाँले भन्नुभयो, “गाईवस्तु पनि पक्की गोठमा बस्छन् तर उनीहरु झुपडीमा बसेर देखेर रुन मन लागेको र उनीहरुको उज्ज्वल भविष्य बनाउन अध्ययनका लागि मद्दत गरेकी हूँ ।”

बालकद्वयको आफ्नो घरमा ल्याई जागिर खुवाएर विवाह गरिदिने चाहना रहेको शिक्षिका जुनमायाले बताउनुभयो । आफ्नो लागि शिक्षिका जुनमाया साक्षात देवी पाएको राम सुनारले बताउनुभयो । “जन्म दिने आमा गुमाए पनि कर्म दिने आमा पाएकाले हाम्रो पढ्ने रहर पूरा भएको छ”, उहाँले भन्नुभयो । जुनामायालाई आफ्नै आमाको रूपमा लिने गरेको उनीहरु बताउँछन् ।

जुनामायाले समाजमा गतिलो सन्देश दिनुका साथै राम्रो छाप पार्न सफल हुनुभएको भानुनगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले बताउनुभयो । उहाँका श्रीमान् महेन्द्र कुमाल पनि शिक्षक पदमा कार्यरत भएको र पारिवारिक आर्थिक अवस्था राम्रो रहेकाले बालकद्वयको पठनपाठनमा सहज भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । सहाराविहीन बालकलाई सहारा दिएर अभिभावकको महत्वपूर्ण भूमिका निर्वाह गर्नु अनुकरणीय कार्य भएको उहाँ बताउनुहुन्छ ।

प्रकाशित : मङ्गलबार, कार्तिक १८, २०७७११:१८

कोरोनाले मृत्यु भएको ५ महिनापछि गाडेको शव उत्खनन‍् गरी दाहसंस्कार !