चीनको शंघाईका इन्जिनियरहरूले ७६०० टनको विशाल भवनलाई यसको स्थानबाट अर्को स्थानमा सारेका छन्। उनीहरुले सन् १९३५ मा निर्माण गरिएको शंघाईको लागेना प्राथमिक विद्यालयको पाँच तले भवन उठाएर यसलाई आधुनिक प्रविधि प्रयोग गरेर केहि दूरीमा सारेका छन्। स्थानीय प्रशासनका अनुसार यस पुरानो भवनको नजिकै एक नयाँ परियोजनाको निर्माण शुरू हुन लागेको छ, जसको लागि ठाउँ थोरै भएकोले उक्त भावनलाई आफ्नो ठाउँबाट सारियो।
चिनियाँ इन्जिनियरहरूले पनि यो भवन ध्वस्त पार्ने विकल्प पनि पाएका थिए, तर उनीहरुले यो ऐतिहासिक भवनलाई यसको ठाउँबाट अर्को ठाउँमा सार्ने निर्णय गरे। चिनियाँ सरकारी मिडियाका अनुसार इन्जिनियरहरूको टोलीले टेक्नोलोजीको सहयोगमा उक्त भवन उठाए र १९८ रोबोटको मद्दतले उक्त भवनलाई हटाइयो।
स्थानीय मिडियाका अनुसार कंक्रिटले बनेको हजारौं टनको भवनलाई मुख्य साइटबाट करिब ६२ मिटर सारिएको छ। चिनियाँ सरकारको नियन्त्रणमा रहेको सीसीटीभी न्यूज नेटवर्कका अनुसार भवनलाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने काम १८ दिनमा पूरा भयो। समाचार एजेन्सीका अनुसार स्थानीय प्रशासनले यस ऐतिहासिक भवनको संरक्षण गर्ने निर्णय गरिसकेको छ र मर्मत कार्य पनि भइरहेको छ।
यसअघि, २०१७ मा १३५ वर्ष पुरानो करिब २ हजार टनको ऐतिहासिक बौद्ध मन्दिर त्यसको मुख्य ठाउँबाट ३० मिटर सारिएको थियो, जसको लागि १५ दिन लागेको थियो।