बाइडेनले अमेरिकी चुनावी इतिहासमै सबैभन्दा बढी मत पाए, ओबामा पनि पछि परे !

काठमाडौँ – अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेट उम्मेदवार जो बाइडेनले इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका छन् ।

डेमोक्रेटको तर्फबाट उम्मेदवार रहेका बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका हुन्। बाइडेनले बाराक ओबामालाई समेत पछाडी पारेका छन्।

जारी मतगणनामा बाइडेनले प्राप्त गरेको मत सन् २००८ मा बाराक ओबामाले प्राप्त गरेको मत भन्दा पनि बढी हो। सन् २०१८ मा ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए। बाइडेनले ७ करोड २० लाख (५०.४ प्रतिशत)भन्दा बढी मत प्राप्त गरिसकेका छन्।

अमेरिकाका केहि राज्यमा मतगणना हुन अझ बाँकि नै छ। यस हिसाबले बाइडेनको मत अझ बढ्ने पक्का छ। बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लोकप्रिय मतमा पछाडी पारिसकेका छन्। बिहीबार बिहानसम्म ट्रम्पले ६ करोड ८५ लाख(४७.९ प्रतिशत)भन्दा बढी मत प्राप्त गरेका छन्। अन्तिम मतपरिणाम आउने समय सम्म ट्रम्पले पनि ओबामाले प्राप्त गरेको मतलाई पछि पार्ने देखिएको छ।

लोकप्रिय मत बढी बाइडेनले प्राप्त गर्दैमा उनी अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुँदैनन्। सन् २०१६ मा ट्रम्पले भन्दा करिब ३० लाख बढी मत प्राप्त गर्दा पनि हिलारी क्लिन्टन इलोक्टोरल भोटमा पछि परेकी थिइन्।

अमेरिकी राष्ट्रपतिमा निर्वाचि हुनको लागि २७० इलेक्टोरल कलेज आवश्यक पर्छ। सबै ५० राज्यको इलेक्टोरल कलेज जोड्दा जम्मा ५३८ हुन्छ। यही ५३८ मध्ये जसले ५० प्रतिशत भन्दा धेरै संख्या अर्थात् २७० पुर्‍याउँछ, त्यो नै अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन्छ।

प्रकाशित : बिहिबार, कार्तिक २०, २०७७१३:१७

ट्रम्पलाई कडा झड्का: निर्णायक दुई गढ ढले !