काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालको अगाडि विशेषण जोड्नुपर्ने आवश्यकता नरहेको बताएका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णय बारे टिप्पणी गर्दै ट्वीटर मार्फत नेपालको अगाडि विशेषण जोड्नुपर्ने आवश्यकता नरहेको बताएका हुन्।
नेपालको अगाडि विशेषण जोड्नुपर्ने आवश्यकता नै नभएको उनको तर्फ छ। सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने भनि गरेको निर्णयलाई थापाले ठीक भनेका छन्।
“संघीयता र गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होइन, प्राचीनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो। नामको अगाडि विशेषण जोड्नु आवश्यक थिएन”,थापाले ट्वीट गर्दै लेखेका छन्। नाम अगाडि रहेका विशेषण हटाउँदा षड्यन्त्र भएको ठान्नेहरूको मनस्थिति कमजोर धरातलमा खडा भएको थापाको बुझाई छ।
थापा ट्वीटरमा लेख्छन्,”सरकारको निर्णय ठीक छ। नाम अगाडि रहेका विशेषण हटाउँदा षड्यन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ।”
संघियता/गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन,प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो।नामको अगाडी बिशेषण जोड्नु आबश्यक थिएन।सरकारको निर्णय ठीक छ।नाम अगाडी रहेका बिशेषण हटाउंदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ-ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ
— Kamal Thapa (@KTnepal) November 6, 2020
सरकारले गत ११ असोजमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको थियो। उक्त निर्णय बारे तत्काल सार्वजनिक नभएपनि कानुन मन्त्रालयबाट गत असोज २८ गते ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को स्थानमा ‘नेपाल’ मात्र लेख्नू भनेर मातहतका निकायहरूमा पत्राचार गरेपछि सार्वजनिक भएको थियो।
सरकारले गरेको उक्त निर्णय बारे मिश्रित प्रतिक्रिया आइरहेका छन्। यस अगाडी जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको उक्त निर्णय प्रति आपत्ति जनाएका थिए।