‘जनताले मलाई जनमत दिएका हुन्, म कसैसँग डराउँदिन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले किमाथाङ्का नाका र उत्तर दक्षिण कोशी राजमार्गको हेलिकप्टरबाट अवलोकनपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै । तस्वीर ः भविन कार्की, रासस

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कसैसँग पनि नडराउने स्पष्ट पारेका छन्।

बुधबार संखुवासभा पुगेका ओलीले एक कार्यक्रमलाई सम्बोधन गर्दै जनताको विश्वासका कारण आफू कसैसंग डराउनु पर्ने अवस्था नरहेको र आफू नडराउने स्पष्ट पारेका हुन्।

आफू जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले कसैसँग नडराईकन अघि बढ्ने ओलीको भनाई छ। पार्टीभित्रको आन्तरिक विवादको उल्लेख नगरेपनि ओलीले कसैको चाहनाले पार्टी केही पनि नहुने जिकिर गरे ।

ओलीले आफ्नो दल ५० वर्ष अगाडिदेखि सानासाना टुक्राटुक्रा जोडेर निर्माण गरिएको हुँदा कोही–कसैको चाहनाले नेकपा केही नहुने बताए । साथै उनले नडराइकन काम गर्न कार्यकर्तालाई निर्देशन समेत दिए । नआत्तिकन अगाडि बढ्न पार्टी कार्यकर्ताहरूलाई उनको आग्रह छ ।

प्रधानमन्त्री ओलीले बुधबार संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले किमाथाङ्का नाका र उत्तर दक्षिण कोशी राजमार्गको हेलिकप्टरबाट अवलोकनपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै । तस्वीर ः भविन कार्की, रासस

प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराइएको थियो । सो आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

प्रधानमन्त्री ओलीले यसअघि चीनसँग जोडिएको किमाथाङ्कामा सडक पूर्वाधार विकासको प्रगतिबारे पनि अनुगमन गरेका थिए । प्रधानमन्त्री ओलीका साथ सङ्घीय मन्त्री, प्रदेश नं. १ का मुख्यमन्त्री, सांसद र जनप्रतिनिधि तथा आयोजना प्रमुख रहेका थिए ।

प्रकाशित : बुधबार, कार्तिक २६, २०७७१८:२९

मन्त्री बन्न बाटो खुलेपछि बामदेवले भने – ‘मेरो अभियान कुनै पद र प्रतिष्ठाका लागि होइन’