काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का वरिष्ठ नेता झलनाथ खनालले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख नेपाल आउनु र राजनीतिक दलका नेताहरुलाई भेट्नु परराष्ट्र नीतिविपरीत भएको बताएका छन्।
सूर्योदय नगरपालिकामा ‘२०७६÷०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण’ समारोहपछि पत्रकारहरुसँग संवाद गर्नेक्रममा खनालले यस्तो बताएका हुन्।
विदेशी कुटनीतिक नियोगका व्यक्तिको अन्तरदेशीय भेटघाटका विषयमा ‘कोड अफ कण्डक्ट’ बनिसकेको र परराष्ट्र मन्त्रालयको स्वीकृतिबिना ‘रअ’का प्रमुख नेपाल आउनु मर्यादाविपरीत हुन जाने उनले तर्क गरे।
प्रधानमन्त्री ओलीले ‘रअ’ प्रमुखलाई नभेटेको खनालले दावी गरेका छन्। ओलीले नभेटेको भएता पनि राजनीतिक दलका केही नेताहरुले भने भेटेको उनको दावी छ।
यस्तै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले अब देशलाई समृद्ध बनाउन र विकास निर्माण गर्नमा जुट्न कुनै बाधा नभएको बताएका छन्।
“मुलुकमा लामो समय राणा शासन, पञ्चायती व्यवस्था र सङ्क्रमणकालीन समय बिते पनि अब भने मुलुक समृद्ध बनाउन कुनै समस्या रहेको छैन् ।”,उनले भने।
उनले १० वर्ष लगाएर निर्माण गरेको संविधान विकासको जग भएको भन्दै अब मुलुकमा विकासको छल्याङ मार्ने बेला भएको बताए ।
“हामीले लामो समय राणाकाल, पञ्चायती व्यवस्थाजस्ता निरङ्कुश शासन व्यवस्था झेलेऊ”, उनले भने, “अब कुनै पनि निरङ्कुश व्यवस्था छैन । त्यसैले यो समयमा तीव्र विकास गर्नुपर्छ ।”