काठमाडौँ – जनता समाजवादी नेपालका संघीय अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली माथि जुन गोरूको सिंग छैन उसको नाउँ तिखे भन्दै व्यंग्य गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा हवाई मापदण्डअनुसार अत्याधुनिक हेलिप्याड निर्माण गरिएको विषयमा टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यस्तो व्यंग्य गरेका हुन्।
भट्टराईले ट्वीटर मार्फत ओलीप्रति लक्षित गर्दै राजारानीको जस्तो सोख र शान चाहिनेले पार्टीको नामचाहिँ किन कम्युनिष्ट राखेको भन्दै प्रश्न समेत गरेका छन्।
“सोख शान सबै राजा/रानीको जस्तो चाहिने नाउँ चाहिँ किन ‘कम्युनिष्ट’ राख्नुपर्ने रहेछ हँ,”, पूर्वप्रधानमन्त्री भट्टराईले ट्विटरमा लेखेका छन्, “जुन गोरूको सिंग छैन उसको नाउँ तिखे ?”
अब ओली बालुवाटारबाटै उड्ने
प्रधानमन्त्री निवास बालुवाटारमा हवाई मापदण्डअनुसार अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ ।
हेलिप्याड निर्माणसँगै प्रधानमन्त्री अत्यावश्यक कामका सिलसिलामा देशभित्र तथा विदेश जानुपर्दा बालुवाटारबाट विमानस्थल आवतजावत गर्ने क्रममा हुने ट्राफिक जाम व्यवस्थापनमा सहज हुनेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्डानुसार नै हेलिप्याड निर्माण भएको र यसले बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा हुने ट्राफिक जाम हट्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सङ्खुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट उडान गरिएको थियो । प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले हवाई मापदण्डानुसार नै हेलिप्याड निर्माण भएको बताए।
उनका अनुसार हेलिप्याड निर्माणका लागि प्राधिकरणले प्राविधिक सहयोग गरेको छ । हेलिप्याड प्राधिकरणको प्राविधिक सहयोगमा नेपाली सेनाले तयार पारेको हो । सो हेलिप्याडमा अहिले नेपालमा सञ्चालनमा रहेको सबैभन्दा ठूलो हेलिकोप्टर ‘एमआइ १७’ सम्म क्षमताका बस्न सक्ने जनाइएको छ ।