कोरोना खोप ९० प्रतिशत सफलताको अर्थ के हो ?

काठमाडौँ – कोरोना भाइरसविरुद्धको खोप निर्माण प्रतिस्पर्धामा रहेका दुई निर्माताले यसै साता आफूले बनाएका खोपको प्रभावकारिताको अन्तरिम नतिजा सार्वजनिक गरे। परीक्षणको प्रारम्भिक नतिजाले दुवै खोप कोरोना भाइरस संक्रमण रोक्न ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको दाबी गरिएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

अमेरिकी औषधि निर्माण कम्पनी फाइजर र जर्मन साझेदार कम्पनी बायोएन टेकले कोरोनाविरुद्ध निर्माणाधीन खोप ९० प्रतिशत सफल रहेको दाबी गरेको तेस्रो दिन बुधबार रुसले आफूले बनाइरहेको ‘स्पुतनिक–भी’ नामक खोप ९२ प्रतिशत सफल भएको ठोकुवा ग-यो। ११ महिनादेखि विश्व समुदाय कोरोना भाइरसविरुद्धको खोपको पर्खाइमा रहेका बेला यी दुवै समाचारले विश्वभर आशाको सञ्चार गराए। फाइजरले परीक्षणका क्रममा ४३ हजार मानिसमा खोप लगाएकोमा कसैमा पनि स्वास्थ्यमा कुनै जटिल समस्या नदेखिएको र खोप लगाएकामध्ये ९४ जनामा मात्र भाइरस संक्रमण देखिएको दाबी गरेको छ। रुसी कम्पनीले पनि खोप परीक्षण गरिएका १६ हजार मानिसमध्ये २० जनालाई मात्र संक्रमण देखिएको दाबी गरेको छ।

सन् २०१९ को डिसेम्बरमा चीनको बुहानबाट फैलिएको कोरोना महामारीले विश्वमा हालसम्म १२ लाख ९० हजार मानिसको ज्यान लिइसकेको छ भने ५ करोड २५ लाख मानिस संक्रमित भएका छन्।

हालसम्म कोरोना भाइरसको उपचारमा कुनै निश्चित औषधि र खोप नभएका कारण खोपसम्बन्धी यी दुई समाचार प्रिय बने। तर यी दुई खोपका तेस्रो तथा अन्तिम चरणको अन्तरिम सफलताले के अर्थ राख्छ, आगामी चरण के हुन्छन् र खोप कहिलेसम्म उपलब्ध हुन्छ भन्नेमा आमसमुदायमा तीव्र जिज्ञासा छ।

९० प्रतिशत सफलताको अर्थ
कुनै पनि खोप परीक्षणका क्रममा सहभागी गराइएका मानिसमध्ये आधालाई औषधिसहितको खोप लगाइन्छ भने बाँकी आधा (जसलाई कन्ट्रोल ग्रुप पनि भनिन्छ) लाई ‘डमी’ खोप दिइन्छ। ‘प्लासेबो’ भनेर चिनिने यो ‘डमी’ खोप वास्तविकजस्तो देखिए पनि यसमा स्वास्थ्यलाई असर गर्ने कुनै सक्रिय पदार्थ हुँदैन। खोप लगाएका मानिसलाई ‘डमी’ अथवा वास्तविक खोप के लगाएको हो भन्ने थाहा हँुदैन। कुनै खोप ९० प्रतिशतले प्रभावकारी भयो भनेको ‘डमी’ खोप लगाएका सतप्रतिशतमा भाइरसको संक्रमण देखिनु र ‘सही’ खोप लगाएका सयजनामध्ये मात्र १० जनामा संक्रमण देखिनु हो।

यी दुवै खोप निर्माताले दाबी गरेको सफलतालाई अपेक्षा गरेभन्दा राम्रो मानिएको छ। अमेरिकी सरकारको नियमनकारी निकाय ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)’ ले कुनै पनि खोप ५० प्रतिशतभन्दा बढी सफल भएमा त्यसलाई स्वीकृति दिइने बताएको छ। त्यसो त बालबालिकालाई दिइने दादुराको खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको छ भने इन्फ्लुएन्जा खोपको सफलता दर ५० प्रतिशतको हाराहारीमात्र छ।

प्रकाशित : शनिबार, कार्तिक २९, २०७७१०:०१

फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोप वयस्यकमा पनि प्रभावकारी !