पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठो-क्किएर दु-र्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय केसीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख युवराज खड्काले दु-र्घटनामा तीन जना घाइते जानकारी दिनुभयो । दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौँ कलङ्की निवासी सुधीर सुवेदी ग-म्भीर घाइते हुनुभएको छ । एक जनाको सामान्यावस्था छ । घाइतेलाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडौँ ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।
बालोद्यानमा दृश्यावलोकनस्तम्भ निर्माण
जिल्लामा पहिलो पटक सदरमुकाम नजीकै दृश्यावलोकनस्तम्भ निर्माण भएको छ । गोरखा नगरपालिका–५ स्थित बालोद्यानबाट देखिने सुन्दर दृष्यावलोकनका लागि करीब रु २५ लाखको लागतमा दृश्यावलोकनस्तम्भ निर्माण भएको होे ।
गोरखा नगरपालिकाले बालोद्यान हाताभित्र दुईतले दृश्यावलोकनस्तम्भ उपभोक्ता समितिमार्फत निर्माण गरेको नगरपालिकाका इञ्जिनीयर प्रकाश ढकालले जानकारी दिनुभयो । निर्माण सम्पन्न भएको भ्यु टावरबाट उत्तरतर्फ हिमालचुली, बौद्ध र गणेश हिमाल दृष्यावलोकन गर्न पाइन्छ ।
नगरपालिकाले पर्यटक पूर्वाधार दृश्यावलोकनस्तम्भका उपभोक्ता समितिमार्फत टावर निर्माणको काम सम्पन्न गरेको उहाँको भनाइ छ । “नगरपालिकाले पाँच तला निर्माण गर्ने गरी योजना बनाएर काम शुरु गरेका हाँै,” उहाँले भन्नुभयो,” बाँकी तीन तलाका लागि भने बजेट निश्चित भइसकेको छैन, तत्कालका लागि दुई तला निर्माण गरी त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले दृष्यावलोकन गर्न पाउने गरी रङरोगन गरी काम सकेका छौँ ।’
“चिल्ड्रेन पार्कमा जिल्लाभित्र र बाहिरबाट आउने पर्यटकले गोरखा बजार तथा वरपरका हिमालको सजिलै अवलोकन गर्न सक्नेछन्”, उपभोक्ता समितिका अध्यक्ष राजकुमार श्रेष्ठले भन्नुभयो, “दृश्यावलोकनस्तम्भ निर्माणसँगै सुन्दर र मनोरम दृष्य हेर्नका लागि एक पटक अवश्य जो कोही पुग्नेपर्ने भएको छ ।” दृश्यावलोकनस्तम्भ निर्माणका क्रममा उपभोक्ता समितिमार्फत रु दुई लाख ५० हजार बराबरको श्रमदान गरिएको उहाँले बताउनुभयो । स्थानीयवासीको सहभागिता निर्माण भएको गोरखामा यो नै पहिलो दृष्यावलोकनस्तम्भ हो ।