काठमाडौं । कोभिड–१९ लाई ठीक बनाउन तयार भइरहेका खोपको मूल्य सार्वजनिक हुन थालेका छन् । हाल विश्वमा करिव आधा दर्जन कम्पनीले खोप तयार पार्ने अन्तिम चरणमा पुगेका छन् । उनीहरूले खोपको लगभग अनुमानित रकम घोषणा गर्न थालेका हुन् । अमेरिकी कम्पनी मोडर्ना इंकले आफ्नो कोभिड–१९ खोपको मूल्य आइतबार घोषणा गरेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
सो कम्पनीको खोप कोरोना महामारीको विरुद्ध अन्तिम चरणको परीक्षणमा ९४ दशमलव ५ प्रतिशत काम गरेको भेटिएको छ । यसको एक खोपको मूल्य २५ देखि ३७ डलर हुन सक्ने बताएका छन् । सो कम्पनीका सिइओ स्टिफेन बैन्सेलले महामारीको गम्भीरतालाई मध्यनजर गर्दै यसको मूल्य २५ डलरदेखि ३७ डलरसम्म उचित हुने बताए ।
खोपले काम गर्नका लागि प्रत्येकले दुईपटक लगाउनुपर्ने हुन्छ । त्यसले यसको मूल्य एक व्यक्ति बराबर ५० देखि ७० डलर हुन आउने देखिएको छ । अन्य कुनै फ्लुको खोप पनि अहिले विश्वमा १० देखि ५० डलरसम्म पर्ने गरेका छन् । सिइओ बैन्सेलका अनुसार आपूर्तिको मात्राको आधारलाई हेरेर मूल्य फरकफरक हुने बताएका छन् । यसैगरी कोरोना महामारीका विरुद्ध अन्तिम चरणको परीक्षणमा ९५ प्रतिशत काम गरेको फाइजर एवं बायोएनटेकको संयुक्त खोपको मूल्य १९ दशमलव ५० डलर तोकिएको छ ।
यो खोप लगाइएमा यसको मूल्य एक व्यक्ति बराबर ३९ डलर हुनेछ । यता, रुसी कम्पनीले भने आपूmले उत्पादन गरेको स्पूतनिक–बी को मूल्य निक्कै सस्तो हुने घोषणा गरेको छ । आइतबार एक सूचना निकाल्दै अमेरिकी कम्पनीको मूल्यभन्दा निक्कै कम हुने जानकारी दिएको हो । स्पूतनिक–बी ले परीक्षणका क्रममा ९२ प्रतिशत प्रभावकारी काम गरेको थियो । यो तीनै वटा कम्पनीको खोपले काम गर्न एक व्यक्तिले दुईपटक लगाउनुपर्ने हुन्छ ।