एजेन्सी – कामको अत्याधिक चापका कारण मलेसियामा कार्यरत विदेशी कामदारहरुको अवस्था नाजुक बन्दै गएको रिपोर्टहरु आएका छन्। मिररको रिपोर्टअनुसार मलेसियामा कार्यरत कामदारहरुलाई क्षमताभन्दा बढी काम लगाइने गरिएको छ। जसकारण ती कामदारहरु काम गर्दागर्दै त्यहीँ ढल्छन् र छटपटाउँछन्।
बेलायतबाट प्रकाशित हुने मिररले क्षमताभन्दा बढी काम लगाइएका कारण कामदारहरु ढलेर बेहोस् भएको तथा छटपटाएको घटनाको भिडियो समेत सार्वजनिक गरेको छ।
सार्वजनिक भएका भिडियोमा मलेसियामा कामदारले कुन हद सम्मको परिस्थितिको सामना गरिरहेका छन् भन्ने देखाइएको छ। मेडिकल सुरक्षाको सामान उत्पादन गर्ने मलेसियाका कम्पनीमा काम गर्ने नेपाली र बंगलादेशी कामदारलाई जबरजस्ती क्षमताभन्दा बढी काम लगाइनेगरेको मिररले जनाएको छ।
मिररका अनुसार मलेसियाको टप ग्लोभ कारखानामा काम गर्ने ३० भन्दा धेरै कामदारलाई फोहर कोठामा कोचेर राख्ने गरिएको छ। जहाँ उनीहरुको चरम श्रम शोषण हुने गरेको छ।
उक्त कारखानामा श्रम शोषण हुने गरेको थाहा हुन आएसँगै अमेरिकाले यो कम्पनीका पञ्जामाथि प्रतिबन्ध लगाइसकेको छ । तर, बेलायतको नेशनल हेल्थ सर्भिस अन्तर्गतका अस्पतालमा भने यिनै पञ्जाहरु आपूर्ति हुने गरेको मिररले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
मुख्यगरी नेपाली र बंगलादेशी कामदार रहेको उक्त कारखानामा काम गर्ने कामदारहरु फ्लु र ज्वरोबाट ग्रसित भइरहेको बताइएको छ । कामदारहरुको अवस्था नाजुक हुँदा पनि कुनै मतलब नराखिएको र त्यसले कामदारहरुको ज्यान समेत जाने गरेको त्यहाँ कार्यरत कामदारहरुको भनाई छ।
*टप ग्लोभले एक वर्षमा करिब ७४ अर्बको संख्यामा मेडिकल र औद्योगिक पञ्जाहरु उत्पादन गर्ने गरेको छ र कोरोना भाइरसको महामारी पश्चात उत्पादन बढाइएको छ। यसरी उत्पादन बढाउन कामदारलाई क्षमताभन्दा बढी काम लगाएको प्रति ध्यान दिन सरोकारवाला निकायहरुको ध्यानाकर्षणको आह्वान गरिएको छ।