काठमाडौँ – पूर्वमन्त्री गोकुल बाँस्कोटाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको अन्तरिक विवादमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको रहस्यमय सक्रियता देखिएको बताएका छन्।
नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका बाँस्कोटाले मंगलबार सामाजिक संजाल मार्फत नेकपा भित्र देखिएको विवादमा बाबुरामको सक्रियता रहेको टिप्पणी गरेका हुन्।
यस्तो टिप्पणी गर्दा बाँस्कोटाले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टीबीच एकता हुनुभन्दा अगाडी बाबुराम भट्टराई, मोहन वैद्य, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापाले प्रचण्ड विरुद्ध बनाएको धोवीघाट गठबन्धलाई पनि स्मरण गरेका छन्।
“नेकपाको आन्तरिक शक्ति सङ्घर्षमा भूतपूर्व कमरेड डा. बाबुरामको रहस्यमय, तर सक्रिय र खुला प्रवेशले धोवीघाट गठबन्धनका स्वघोषित सूत्रधार काजी कमरेड मात्र हैन, म पनि खुशी छु। अब पोल्टो र भुइँ बचाउने सङ्घर्षले सही दिशा समात्छ भन्ने हाम्लाई लाइराछ, हेरौं के हुन्छ!”,बाँस्कोटाले ट्वीटरमा लेखेका छन्।
नेकपाकाे आन्तरिक शक्तिसङघर्षमा भूतपुर्व कमरेड डा• बावुरामकाे रहस्यमय तर सक्रिय र खुल्ला प्रवेशले धाेबीघाट गठबन्धनका स्वघाेषित सूत्रधार काजी कमरेड मात्र हैन म पनि खुशी छु।अब पाेल्टाे र भूँइ बचाउने सङघर्षले सही दिशा समात्छ भन्ने हाम्लाई लाईराछ, हेराै के हुन्छ।
— Gokul Prasad Baskota (@GokulPBaskota) November 24, 2020
सत्तारुढ नेकपा भित्र पछिल्लो केहि समय देखि अन्तरिक कलह चुलिएको छ। नेकपामा ओली र प्रचण्ड बीच रहेको मतभेद बढ्दै गइरहेको अवस्थामा जसपाका भट्टराईले लगातार ओली माथि सामाजिक संजाल मार्फत प्र’हार गरिरहेका छन्। सोमबार मात्रै भट्टराईले ओली प्रवृत्तिलाई काँध थाप्ने गल्ती गर्न नहुने बताएका छन्।
“व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्। तर ओली प्रवृत्ति यतिवेला प्रतिगमन, कुशासन, अल्प विकासको मुख्य वाहक हो। अग्रगमनको मुख्य बाधक हो। यो एउटा पार्टीको मुद्दा मात्र हैन। कुनैपनि बहानामा यसलाई काँध थाप्ने गल्ती नगरौं।”,भट्टराईले ट्वीटरमा लेखेका थिए।