काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण सशस्त्र प्रहरीका एक इन्सपेक्टरको निधन भएको छ। कोरोना भाइरस संक्रमणका कारण सोमबार राति शस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को मोरङमा निधन भएको हो।
निधन हुनेमा ३३ वर्षीय नवीन बुढाथोकी रहेका छन्। तेह्रथुमको म्याङ्लुङ् घर भएका उनको उपचारका क्रममा मोरङ बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ।
उनी मोरङको बूढीगंगास्थित टंकीसिनवारीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनीमा गत भदौदेखि कार्यरत रहेका थिए।
ब्याडमिन्टन खेल्दाखेल्दै एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि उनलाई कार्तिक २६ गते विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ गरिएको परीक्षणले उनीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि गरेको थियो।
विराट शिक्षण अस्पतालमा उपचार हुँदा स्वास्थ्यमा केहि सुधाए देखिएपनि सोमबार राति निधन भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले बताए।
स्वास्थ्यमा समस्या थपिँदै जाँदा सुरुमा आइसीयूमा राखिएको र पछि भेन्टिलेटरमा राखेर उपचार जारी राखिएपनि बचाउन नसकिएको देवको भनाई छ।