एजेन्सी – लिओनल मेस्सीले सिजनको सुरुवातमै बार्सिलोना छाड्न चाहेका थिए । जसले विश्वभर चर्चा भएको थियो । धेरैलाई लागेको थियो, बार्सिलोना छाडे भने मेस्सी पूर्व प्रशिक्षक पेप ग्वार्डिओलोको टोली म्यानचेस्टर सिटी जानेछन् ।
तर, क्लबसँग विवाद चर्काउन उपयुक्त नहुने भन्दै मेस्सीले अर्को एक सिजन क्याटलान क्लबमै बस्ने निर्णय गरे । अहिले पनि परिस्थिति फेरिएको छ । सिटीले अर्को सिजन अर्जेन्टिनी सुपर स्टारलाई लिने सम्भावना कमजोर भएको छ ।
यो सिजनपछि मेस्सीको बार्सिलोनासँगको सम्झौता सकिनेछ । यो सिजन बार्सिलोना बसेपछि अर्को वर्ष मेस्सी सिटी जानसक्ने धेरैले अनुमान गरिएका छन् । तर सिटीले उनको चर्को पारिश्रमिक र पाको हुँदै गएको उमेरका कारण नलिने सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अर्को वर्ष मेस्सी ३४ वर्षको हुनेछन् । उनको क्षमतामा धेरै शंका नहोला तर, सिटीले उनको लागि ठूलो रकम खर्च गर्नुपर्ने भएकाले पनि प्रस्ताव नगर्ने सम्भावना छ ।
‘जहाँ सम्म मैले जानकारी पाएको छु । सिटीले मेस्सीका लागि प्रस्ताव गर्ने छैन । मेरो सुचनाका आधारमा उनका लागि ढोका बन्द भएको छ,’ खेलाडीका बारेमा जानकारी राख्ने एक स्रोतले मार्कालाई भनेका छन्, ‘आर्थिक कारण र मेस्सीको उमेरका कारण सिटीले प्रस्ताव गर्ने छैन ।’
पछिल्लो १७ वर्ष उच्च स्तरको प्रदर्शन गरिरहेका मेस्सीले आउने दिनमा त्यस्तै प्रदर्शन गर्न सक्लान् भन्ने आशंका छ । मेस्सीले अहिले पनि बर्षको झन्डै सय मिलियन युरो आम्दानी गरिरहेका छन् । विश्वको कुनै पनि फुटबल क्लबका लागि त्यो पारिश्रमिक निकै ठूलो लगानी हो । कोराना महामारीका कारण अहिले अधिकांश क्लबको आम्दानीमा ठूलो असर गरेका छ ।