एजेन्सी – ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको एक सर्वेक्षणले भारत एसियाकै सबै भन्दा बढी भ्रष्टाचार हुने मुलुक रहेको देखाएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल – ग्लोबल करप्शन ब्यारोमिटरका अनुसार भारत एसियाकै सबै भन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा देखिएको हो।
भारत, नेपाल, चीन सहित एसियाका १७ देशहरुमा गरिएको सर्वेक्षण पश्चात जारी गरेको प्रतिवेदनले भारतमा सबै भन्दा बढी भ्रष्टाचार हुने गरेको देखाएको पाइएको छ।
सर्वेक्षणमा सहभागी गराइएका १७ देश मध्ये भारत, कम्बोडिया र इन्डोनेसियामा सबै भन्दा भ्रष्टाचार हुने गरेको ट्रान्सपरेन्सी इन्टरनेसनल – ग्लोबल करप्शन ब्यारोमिटरले देखाएको छ।
सर्वेक्षणमा सहभागी मध्ये ३९ प्रतिशत भारतीयले गएको १२ महिनामा घुस तिरेको पाइएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ। यो १७ देश मध्येकै सबै भन्दा बढी रहेको छ।
भारत पश्चात कम्बोडियाका ३७ प्रतिशत र इन्डोनेसियाका ३० प्रतिशतले गएको १२ महिनामा घुस दिएको ग्लोबल करप्शन ब्यारोमिटरले देखाएको छ। यस सम्बन्धमा नेपालको कुरा गर्ने हो भने सर्वेक्षणमा सहभागी मध्ये १९ प्रतिशतले मात्र गएको १२ महिनामा घुस दिएको पाइएको छ।
भारतमा ४६ प्रतिशतले सरकारी काम गराउन व्यक्तिगत चिनजानलाई प्रयोग गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। जसमध्ये सबै भन्दा धेरै अदालती काम-कारवाहीमा भनसुनको प्रयोग गरिएको सर्वेक्षणले देखाएको छ।
*ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको सर्वेक्षणमा प्रत्यक १७ देशका २० हजार नागरिक सहभागी भएका थिए। जसलाई सम्बन्धित देशमा भइरहेको भ्रष्टचार बारे प्रश्न गरिएको थियो।