“जनताले मत ओलीलाई दिएका हुन्, ओलीको विकल्प छैन”

काठमाडौँ – शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन्।

फोकस नेपालले बिहिबार आयोजना गरेको ‘कोरोना नियन्त्रणमा सरकार र नागरिक समाजको भूमिका’ विषयको अन्तरक्रियामा राज्यमन्त्री मानन्धरले ओलीको विकल्प अरु कोही हुनै नसक्ने दावी गरेका हुन्।

नेपालमा प्रजातन्त्र आएपछिको ७० वर्षे कालखण्डमा सबैभन्दा शक्तिशाली सरकार ओली नेतृत्वमा बनेको दावी गर्दै उनले ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पूरा हुने बताए।

मन्त्री मानन्धरले जनताले विश्वास गरेर ओली नेतृत्वमा सरकार बनाउन नेकपालाई जिम्मा दिएको बताउँदै आगामी दुई वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएको प्रतिबद्धतानुसार वर्तमान सरकारले काम गर्ने विश्वास व्यक्त गरे।

जनताले ओलीलाई विश्वास गरेकै कारण नेकपाले जनमत पाएको उनको जिकिर छ। जनताले विश्वास गरेर ओली नेतृत्वमा सरकार बनाउने जिम्मेवारी नेकपाले पाएको हुँदा जनमतको अवमूल्यन गर्ने काम कतैबाट पनि हुन नहुने उनले बताए।

मन्त्री मानन्धरले पार्टी एकतामा खलल पुग्ने कुनै पनि किसिममा कार्यमा नलाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे। नेकपा भित्रको विवाद मिलाउन शिर्ष नेताहरु सक्रिय भएको र यस्तो समयमा कार्यकर्ताले धैर्य गर्नुपर्ने उनको भनाई छ। सत्तारुढ नेकपामा देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरु लागिपरेको बताउँदै केही दिनभित्रै कार्यकर्तामा उत्साह भर्ने गरी निर्णय आउने ठोकुवा उनले गरे।

सरकारले कोरोना नियन्त्रणमा उत्कृष्ट काम गरेको छ

यस्तै मन्त्री मानन्धरले उक्त कार्यक्रममा बोल्ने क्रममा कोरोना नियन्त्रण गर्ने मामलामा सरकारले राम्रो काम गरेको दावी गरे। कोरोना नियन्त्रणमा नेपालले दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा राम्रो व्यवस्थापन मिलाएको उनको दावी छ। जनताको जीवन रक्षाका लागि सरकारले कुनै पनि कसर बाँकि नराखेको उनले बताए।

प्रकाशित : बिहिबार, मङि्सर ११, २०७७१८:४८

देशभर १,६१४ सङ्क्रमित र काठमाडौँ उपत्यकामा ७८५ थपिए !