चीनका रक्षामन्त्री जनरल वेइ फेङहे औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्। औपचारिक भ्रमणका क्रममा आइतबार बिहान पौने ११ बजेतिर काठमाडौं आएका रक्षा मन्त्रीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादलले स्वागत गरेका छन्।
नेपालको एकदिने औपचारिक भ्रमणका लागि नेपाल आएका रक्षामन्त्री फेङहे दूतावासमा केहीबेर बसेपछि दिउसो नेपाली सेनाको मुख्यालय जंगी अड्डा जाने कार्यक्रम छ। त्यहाँको उनले दिउसो २ बजेतिर प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने छन्। उक्त कार्यक्रम सकेर रक्षा मन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न दिउँसो ३ बजेतिर बालुवाटार जाने चिनियाँ स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्रीसँगको भेटघाटपछि उनी शितल निवास पुग्ने कार्यक्रम छ। शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ता सकेर फेङहे आजै स्वदेश फर्केने कार्यक्रम छ।
गत बर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङ्को भ्रमणपछि चीनबाट पहिलोपटक उच्च चिनियाँ अधिकारी नेपाल आएका हुन्।