काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने विषयमा बहस चलिरहेका बेला उर्जामन्त्री वर्षमान पुनले पार्टीको नेतृत्व गर्न दोस्रो पुस्ताका नेताहरु तयार रहेको बताएका छन्।
विद्युतीय सबस्टेशन उद्घाटन गर्न रोल्पा पुगेका बेला सोमबार नेकपाका स्थायी कमिटी समस्य समेत रहेका पुनले दोस्रो पुस्ता पार्टी र सरकार चलाउन सक्षम र तयार रहेको बताएका हुन्।
पछिल्लो केहि समय देखि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टी र सरकारको नेतृत्व अब नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै आएका छन् भने उनले प्रचण्ड लगायतका नेताहरुलाई पनि त्यसको लागि तयार हुन सुझाव दिँदै आएका छन्।
विद्युतीय सबस्टेशन उद्घाटन गर्न रोल्पा पुगेका पुनले दुवै अध्यक्षले नयाँ पुस्तालाई नेतृव हस्तान्तरण गर्ने गरी निर्णय गरे पार्टीको नेतृत्व लिन दोस्रो पुस्ता तयार रहेको बताए। तर, नेतृत्व हस्तान्तरण विधि र प्रक्रियागत रुपमा हुनुपर्ने उनको भनाई छ।
“दुबै अध्यक्ष तथा प्रधानमन्त्रीले पनि छाड्छु भन्नुहोस्। हामी दोस्रो पुस्ता दुबै पद लिन र चलाउन सक्षम र तयार छौँ । तर यो विषय आवेश र उत्तेजनाको आधारमा नभई पार्टीको विधि र प्रक्रियागत रुपमा औपचारिक रुपमा हुनुपर्छ”,उनले भने,”हामीले विधिसम्मत ढंगले टुंगो लगाउनु पर्छ। हामी त्यसका लागि तयार छौ।”
साथै मन्त्री पुनले नेकपाक दुई अध्यक्ष बीचको विवादले पार्टीका उच्चस्तरीय नेताहरुबीच नै मनमुटाव उत्पन्न गराएको प्रति चिन्ता व्यक्त गरे। नेकपाभित्रको बहसले सिंगो देशको राजनीति प्रभावित भएको उनको भनाई छ।
“पार्टीको विवादले देशमा समस्या हुन्छ कि भन्ने चिन्ता छ। हामी त्यसमा जान दिँदैनौ। संविधानले प्रदान गरेको अधिकार गुम्न दिँदैनौं। पार्टीको बहस कहिले उच्च प्रवाहमा र कहिले न्यूनमा हुन्छ। यसले पार्टीलाई नयाँ ठाउँमा पुर्याउँछ। ठूला विवादको निरूपण महाधिवेशनबाट गर्छौं। साना विवादको निरूपण केन्द्रीय कमिटीले गर्छ।”,उनले भने।