एजेन्सी – इटालियन सिरी ए क्लब युभेन्टस तथा पोर्चुगिज राष्ट्रिय टिमका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोल्डेन फुट अवार्ड जितेका छन्।
शिर्ष १० को मनोनयनमा परेका अन्य खेलाडीहरुलाई पछि पार्दै रोनाल्डोले करियरमा पहिलो पटक गोल्डेन फुट अवार्ड जितेका हुन्। त्यसक्रममा उनले लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की र मोहमद सलाह थिए।
मनोनयनमा रोनाल्डोका अलावा मेस्सी, लेवान्डोस्की, सलाहसँगै नेयमार, जर्जियो चेलीनी, सर्जियो रामोस, सर्जियो अग्युरो, जेरार्ड पिके र अर्टुरो भिडाल परेका थिए।
सन् २००३ देखि हरेक वर्ष वितरण गर्दै आइएको उक्त अवार्ड हात पार्ने रोनाल्डो सहित १८ जना खेलाडी छन्। उक्त अवार्ड २८ वर्ष पुगिसकेका खेलाडीहरुको मनोनयन सार्वजनिक गरेर वितरण गर्ने गरिएको छ।
गत वर्ष गोल्डेन फुट अवार्ड रियल मड्रिडका लुका मोड्रिचले जितेका थिए। व्यक्तिगत अवार्डमा रोनाल्डोका प्रतिद्वन्दी मानिने लियोनेल मेस्सी उक्त अवार्डको मनोनयनमा पर्ने गरेपनि अवार्ड जित्न भने अहिले सम्म सकेका छैनन्।
गोल्डेन फुट अवार्ड अहिले सम्म ब्राजिलियन रोनाल्डो, रोनाल्डिन्हो, ज्लातान इब्राहिमोविच, एडिसन काभानी जस्ता खेलाडीले जितिसकेका छन्।