एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले बार्सिलोनाका कप्तान लियोनल मेसीसँगै खेल्न चाहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा नेयमारले बार्सिलोनाका कप्तान लियोनेल मेस्सीसँग खेल्ने तिब्र इच्छा व्यक्त गरेका हुन्।
गएराति च्याम्पियन्स लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेड विरुद्ध २ गोल गरेका नेयमारले वर्तमान अवस्थामा आफूलाई सबै भन्दा बढी मेस्सीसँग खेल्ने इच्छा रहेको बताए।
“म फेरी मेस्सीसँग खेल्न चाहन्छु।”,उनले भने,”यहि हो जे अहिले म सबै भन्दा बढी चाहिरहेको छु। फेरी उनीसँगै मैदानमा हुने मेरो इच्छा छ। विश्वास छ अर्को वर्ष हामी सँगै खेल्नेछौं”
नेयमार र मेस्सीले बार्सिलोनामा एक साथ फुटबल खेलेका थिए। त्यससमयमा नेयमार-मेस्सी र लुइस स्वारेज मिलेर क्लबलाई विभिन्न सफलता दिलाएका थिए। त्यसपश्चात नेयमार सन् २०१७ मा पीएसजी आएका थिए।
नेयमारले गत ट्रान्सफर विन्डोमा बार्सिलोना जाने प्रयास गरेका थिए। तर, बार्सिलोना र पीएसजी बीच सहमति हुन नसक्दा नेयमारको ट्रान्सफर रोकिएको थियो।
यता मेस्सी बार्सिलोनामा रहने नरहने भन्ने स्पष्ट भने छैन। मेस्सीले यस अगाडी आफू बार्सिलोना छाड्न चाहेको बताएका थिए। मेस्सीले बार्सिलोना छाड्ने बताइरहेको अवस्थामा नेयमार र मेस्सी एक साथ कुन क्लबमा हुन्छन् भन्ने कुरा समयले नै देखाउने छ।