काठमाडौँ – पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ । कोरोना संक्रमण मुक्त भएको केहि दिन नबित्दै स्वाँरको बिहिबार घरमै निधन भएको हो।
स्वाँरको काठमाडौं बानेश्वरस्थित घरमै बिहिबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको आजै पशुपतिस्थित आर्यघा’टमा अन्तिमसंस्कार हुनेछ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा कात्तिक १३ गते पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा कात्तिक १६ गते उनीमा कोरोना पुष्टि भएको थियो।
थापथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका स्वाँर कोरोना संक्रमणमुक्त भएपछि बुधबार डिस्चार्ज भएका थिए। कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका स्वाँरलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
स्वाँर राष्ट्रिय पञ्चायतका अध्यक्ष रहेका थिए भने जनमत संग्रहपछि सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री रहेर काम गरेका थिए । उनका दुई छोरा र चारजना छोरी छन् ।