पछिल्लो समय राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै देशभर प्रदर्शन भइरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज हेटौंडामा राजतन्त्र र हिन्दू राज्यको माग गर्दै प्रदर्शन गरेको छ। राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारीलगायतका विषयमा चर्का नारा साथ शुक्रबार राप्रपा मकवानपुरले हेटौंडा बजारमा नारबाजी गरेको हो।
पार्टी कार्यालय सानोपोखराबाट ‘राजतन्त्र पुनर्स्थापना गर’, ‘हिन्दु राष्ट्र कायम गर’ जस्ता नाराका साथ मोटरसाइकल र्याली निकालिएको थियो। मोटरसाइकल र्याली गरेपनि कोरोना संक्रमण जोखिमलाई ध्यानमा राखेको राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले बताए। “कोरोना संक्रमणलाई मध्यनजरमा राखेर र्याली निकाइएको हो,” अध्यक्ष न्यौपानेले भने।
राप्रपाका नेता मधु अधिकारी, केन्द्रीय सदस्य नवराज विष्ट, जिल्ला अध्यक्ष न्यौपानेले सम्बोधन गरेका र्यालीमा करिब ५०० नेता, कार्यकर्ता तथा पार्टीका शुभेच्छुक सहभागी भएका थिए।