काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्न आग्रह गरेका छन् ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (९ डिसेम्बर) का अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै ओलीले भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरिनुपर्ने बताएका हुन्।
भ्रष्टाचार एक जना प्रधानमन्त्री, मन्त्री वा कुनै एउटा निकायको प्रयासले मात्रै नियन्त्रण गर्न सम्भव नहुने भन्दै भ्रष्टाचारलाई सामाजिक रुपमा नै निन्दा र भर्त्सना गर्नु आवश्यक रहेको ओलीले बताएका छन्। आफू प्रधानमन्त्री भएदेखि नै “म भ्रष्टाचार गर्दिन, भ्रष्टचार गर्न पनि दिन्न“ भन्ने संकल्पलाई दृढताकासाथ लागू गरेको ओलीको दावी छ।
“मैले प्रधानमन्त्री भएदेखि नै “म भ्रष्टाचार गर्दिन, भ्रष्टचार गर्न पनि दिन्न“ भन्ने संकल्पलाई दृढताकासाथ लागू गरेको छु । तर हामी सबैलाई थाहा भएकै कुरा हो कि भ्रष्टाचार एक बहुआयामिक विषय हो । भ्रष्टाचार एक जना प्रधानमन्त्री, मन्त्री वा कुनै एउटा निकायको प्रयासले मात्रै नियन्त्रण गर्न सम्भव हुदैन । भ्रष्टाचारलाई सामाजिक रुपमा नै निन्दा र भर्त्सना ना गर्नु जरुरी हुन्छ ।,”ओलीले सन्देश जारी भन्दै भनेका छन्,”वर्तमान अवस्थामा निजी क्षेत्रले पनि सार्वजनिक सेवा प्रवाहमा ठूलो हिस्सा ओगटेको छ । त्यसैले म यस अवसरमा भ्रष्टाचार नियन्त्रणमा निजी क्षेत्र, नागरिक समाज र आम जनसमुदायसँग समेत सहकार्यका निमित्त अपिल गर्दछु ।”
प्रधानमन्त्री ओलीले सेवाप्रवाहमा हुनसक्ने भ्रष्टाचारजन्य क्रियाकलाप नियन्त्रण गर्न सेवा प्रवाहलाई अनलाइन प्रणालीमा लगिएको बताएका छन्। मालपोत, यातायात, राजस्व संकलन, स्थानीय तहबाट हुने सिफारिसलगायतका कामलाई अनलाइन प्रणालीद्वारा सञ्चालन गर्न प्रारम्भ गरिएको ओलीको भनाई छ।