काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका छन्। बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्रीको राजिनामा माग गरेका हुन्।
सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप गर्ने गरी गरेको निर्णय उपर समितिका सदस्यहरुले प्रश्न गरेका थिए भने सो क्रममा सांसदहरुले गृहमन्त्रीको राजिनामा समेत माग गरेका थिए।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयबाट नगएको बताएसँगै कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले एआईजीको दरबन्दी थप गर्ने प्रस्तव गृह मन्त्रालयबाट नगएको भए गृहमन्त्रीले नैतिक रुपमा राजीनामा दिनु पर्ने बताए।
आफ्नो प्रस्ताव विपरीत निर्णय हुँदा मन्त्रालय र प्रहरी संगठन चलाउन नसकेको पुष्टि हुने भन्दै सांसद बडुले राजीनामा दिएको भए समस्याको समाधान हुने सुझाव गृहमन्त्रीलाई दिएका थिए।
“आफ्नो प्रस्ताव विपरीत निर्णय हुँदा मन्त्रालय र प्रहरी संगठन चलाउन सक्दिनँ भन्दै राजीनामा दिएको भए समस्याको समाधान भइसक्थ्यो। मैले कानून अनुसार ल्याएको, छलफल गरेर ल्याएको मैले मन्त्रालय र संगठन मलाई चलाउन गाह्रो हुन्छ भनेर नैतिक रुपमा बस्दिनँ भनेर राजीनामा गर्नुपथ्र्यो। उहाँले राजीनामा गरेको भए यो सुधार हुन्थ्यो। त्यसकारणले सहमति दिँदै गर्ने हो कि यसलाई करेक्सन गर्ने हो?”,उनले भने। बैठकमा सहभागी अन्य सांसदहरुले पनि सरकारले गरेको उक्त निर्णय बारे गृहमन्त्रीसंग प्रश्न गरेका थिए।
गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई समेत थाहै नदिई मन्त्रिपरिषद्ले ३ मंसिरमा एआईजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो । उक्त पदमा डीआईजी विश्वराज पोखरेल बढुवा सिफारिस समेत भइसकेका छन् ।
राज्य व्यवस्था समितिले बुधबार गृहमन्त्री रामबहादुर थापा बादललाई बोलाएर एआईजीको दरबन्दी थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ।