सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक केही मिनेट बसेर स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक पुस १ गते दिउँसो १ बजे अर्को बैठक बस्ने निर्णय गरेर केहि मिनेटमै समाप्त भयो।
नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। अब अर्को बैठक पुस १ गते बस्ने पनि उनले जानकारी दिए।
यसअघि मंसिर २१ गते पार्टी कार्यालयमा भएको बैठकमा सहभागी नभएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा भने उपस्थित थिए। नेकपाभित्र विवाद चर्की रहँदा अध्यक्ष ओलीले स्थायी कमिटी बैठकमा सहभागी नहुने अडान लिदै आएका थिए। दाहाल र नेपाल पक्ष ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छाड्नुपर्ने अडानमा छन्। तर, ओलीले यसलाई अस्वीकार गर्दै आएका छन्।