बेलौरी – बेलौरी नगरपालिका–६ हात्तीबोझाका विमल रानाकी २० वर्षीया श्रीमती कञ्चन रानालाई भगाएर लैजाने भारतीय नागरिकलाई सशस्त्र प्रहरीले हिजो पक्राउ गरेको छ । भारतको पिलिभित पुरनपुर बस्ने २२ वर्षका हजिम खानलाई सीमा पक्राउ गरेको हो ।
बेलौरी नगरपालिका–६ नयाँ गाउँस्थित मुख्य सीमास्तम्भ नम्बर ७७६ नजिकबाट भाग्दै गरेका बेला नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए ।
भारतीय नागरिक खानलाई भारतीय एसएसवी जिम्मा लगाइएको छ भने भारतीयसँग भागेर जाने महिलालाई इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।
नेपालबाट भारततर्फ लैजाँदै गरेकी युवतीको उद्धार
नेपालबाट भारततर्फ जाँदै गरेका बाजुरा त्रिवेणी गाउँपालिका–१ १७ वर्षकी किशोरीलाई सशस्त्र प्रहरीले सीमा नाका डोकबजारबाट उद्धार गरेको छ ।
उद्धार गरिएकी किशोरीलाई शान्ति पुनःस्थापन केन्द्र कैलालीमा बुझाइएको छ । किशोरीलाई भारततर्फ लैजाने अजुर्न विकलाई पुनःस्थापन केन्द्रमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए।
नाका खुलाउन दबाब दिँदै हस्ताक्षर सङ्कलन
पूर्वी नाका खुलाउन दबाब दिँदै काँकडभिट्टामा आज एक हजार बढीले हस्ताक्षर सङ्कलन गरेका छन् ।
होटल व्यवसायी सङ्घ मेचीनगर र ट्राभल सङ्घ झापाको अगुवाइमा बसपार्कमा गरिएको हस्ताक्षर सङ्कलन अभियानमा एक हजार बढीले हस्ताक्षर गरेका हुन् ।
सङ्घीय सांसद राम कार्कीमार्फत सरकारलाई सो हस्ताक्षर पठाइने तयारी रहेको होटल व्यवसायी सङ्घका अध्यक्ष राम तामाङले बताए। नाका बन्द हुँदा सीमा क्षेत्रका व्यवसाय धरासायी बनेको भन्दै एक महिना अघिदेखि काँकडभिट्टाका व्यवसायी, सङ्घसंस्था र स्थानीयवासीले विरोध प्रदर्शन गर्दै आएका छन् । देशकै मुख्य नाकाका रुपमा रहेको पूर्वी नाका कोभिड–१९ का कारण १० महिनादेखि बन्द छ ।