काठमाडौँ – खानेपानी मन्त्री विना मगरले भ्रष्टाचार गरेको पुष्टि गर्न चुनौती दिएकी छन्।
मेलम्ची खानेपानी आयोजना सम्पन्न हुन ढिला भइरहेको र मेलम्ची आयोजनामा चरम भ्रष्टाचार हुने गरेको आरोप लाग्ने गरेको प्रति सामाजिक संजाल मार्फत टिप्पणी गर्दै मन्त्री मगरले यस्तो चुनौती दिएकी हुन्।
एक ट्वीट गर्दै उनले आफ्नो मन्त्रालय (खानेपानी मन्त्रालय) मा एक रुपैयाँ पनि भ्रष्टाचार भएको प्रमाण भेटिए आफूले पदबाट राजीनामा दिने पनि बताएकी छन्। साथै उनले भ्रष्टाचार नगर्ने प्रतिज्ञा पनि गरेकी छन्।
https://twitter.com/Magarbina123/status/1338311808470302720
“आज म प्रतिज्ञा गर्छु- खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु। देश समृद्ध बनाएरै छाड्छौं।”,ट्वीट गर्दै मन्त्री मगरले भनेकी छन्।
यस्तै मन्त्री मगरले मेलम्ची समयमै आउने पनि बताएकी छन्। कोभिड–१९ का कारण काममा पुगेको बाधाले मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भन्दै समाचार आएपछि ट्वीटर मार्फत नै मन्त्री मगरले मेलम्ची समयमै आउने दावी गरेकी हुन्।
https://twitter.com/Magarbina123/status/1338135722696445952
ट्वीटरमा मगर लेख्छिन्,”मेलम्ची समयमै आउँछ , काठमाडौवासी जनताहरु ढुक्क हुनुस् ।”
मेलम्चीको ‘हेडवर्क्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने
कोभिड–१९ का कारण काममा पुगेको बाधाले मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ।
बन्दाबन्दीको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएको आयोजनाले जनाएको छ।
सुरुङसँगै ‘हेडवर्क्स’ को बाँकी काम सम्पन्न गर्ने गरी सरकारले गत वर्ष असोजमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई जिम्मेवारी दिएको थियो।
तोकिएको अवधि आगामी पुसमा सकिने नदेखिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।
उनका अनुसार कोभिडका कारण ढिलाइ भएका आयोजनामा छ महिना अवधि थप्न सकिने सरकारको निर्णयका आधारमा थप्न लागिएको हो।
उनले भने, ‘चैतसम्ममा आयोजनाले काम सम्पन्न गर्छ भन्ने हामीलाई लागेको छ।’
निर्माण कम्पनीले आगामी चैतबाट पानी पथान्तरण नै गर्न सकिने बताएको जानकारी सूचना अधिकारी पन्तले दिए।
उनका अनुसार गत असारमा सुरुङको परीक्षणका क्रममा अस्थायी बाँधबाट पानी सुरुङमा पठाइएको थियो। अहिले आयोजनाले पुनः पानी पथान्तरण गर्ने योजना बनाइरहँदा ‘हेडवर्क्स’ निर्माण सकिएमा त्यसैबाट पथान्तरण गर्न सकिनेछ।
बन्दाबन्दीका कारण घर फर्किएका कतिपय कामदार आउन नसकेको र निर्माण सामग्री ल्याउन कठिनाइका कारण सामान्य अवस्था जसरी काम हुनसकेको थिएन।
निर्माण कम्पनीले उपलब्ध जनशक्ति र सामग्रीबाट निर्माण गरिरहेको थियो। स्थानीयवासी र स्थानीय तहले आयोजनाका कारण कोभिड–१९ को जोखिम भएको भन्दै बन्द गर्न भनिरहँदा पनि आयोजना सञ्चालन थियो।
लामो समयसम्म पनि सम्पन्न नभएको राष्ट्रिय गौरवका आयोजनामा यो आयोजना पर्छ।
काठमाडौँ उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौँ ल्याउन संस्थागत पहल सुरू भएको दुई दशक भयो।
विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो। आयोजना निर्माणका लागि एशियाली विकास बैंकसँग सन् २००१ मा सम्झौता भएको थियो।
पछिल्लोपटक काम गरेको इटालेली कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो। केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो।
खानेपानी मन्त्रालयले पटकपटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो। पछिल्लोपटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको छ।