हतियारसहित भागेका सैनिक जवानलाई १३ वर्षपछि १० वर्ष जेल सजाय

काठमाडौ : सैनिक अदालतले द्वन्द्वकालमा हतियारसहित भागेका सैनिक जवान विक्रमबहादुर गुरुङलाई १० वर्ष जेल चलानको सजाय सुनाएको छ। २०६३ साउन ३० मा हतियार र गोलिगठ्ठासहित भागेको कालिबहादुर गणका सिपाही विक्रमबहादुर गुरुङलाई १० वर्ष जेल सजाय र गोली गठ्ठाबापतको १ सय ८० अमेरिकी डलर असुल उपर गर्न सैनिक अदालतले आदेश दिएको हो। उनी नेपाली सेनाबाट भागेर तत्कालीन विद्रोही माओवादीमा प्रवेश गरेका थिए।

गुरुङलाई सैनिक ऐनअन्तर्गत हातहतियार र गोलीगठ्ठासहित भगौडासम्बन्धी कसुर गरेका आरोपमा प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा गठन भएको सैनिक समरी जनरल अदालतले सजायँ सुनाएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए। उनलाई सैनिक ऐन २०६३ को दफा ४२ को उपदफा १ को खण्ड ख र दफा ५१ को खण्ड क बमोजिमको कसुरमा दोषी ठहर गर्दै यही ऐनको १०१ को उपदफा २ को खण्ड ग बमोजिम साउन १२ गतेबाट लागू हुने गरी १० वर्ष कैद गर्ने फैसला भएको हो। यो समाचार नागरिक राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

सैनिक ऐन १०१ को उपदफा १ को खण्ड घ बमोजिम गुरुङ हतियारसहित सेवा छाडी भगौडा भएको मितिबाट लागू हुने गरी भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको सेनाले जनाएको छ। अदालतले गुरुङले भाग्ने क्रममा साथमा लगेको ५.५ मिलिमिटर गोलीको १ सय ८० अमेरिकी डलर पनि असुल उपर गरी राजश्व दाखिला गर्ने निर्देशन दिएको छ। प्रधानसेनापतिले साउन ९ गते उक्त निर्णयलाई सदर गरेपछि गुरुङलाई भरतपुरस्थित जेल चलान गरिएको हो।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६०२:४४

कामै नगरी सवा दुई करोड झ्वाम