काठमाडौँ – समाजवादी जनता पार्टीका संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विवेकशील साझा पार्टी राप्रपाको नयाँ अवतार भएको टिप्पणी गरेका छन्।
विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रले एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा विवेकशील साझा पार्टी राजतन्त्र ल्याउन वा फाल्न नजन्मिएको बताएपछि ट्वीटर मार्फत टिप्पणी गर्दै भट्टराईले विवेकशील साझा पार्टीलाई राप्रपाको नयाँ अवतारको संज्ञा दिएका हुन्।
एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा मिश्रले विवेकशील साझा पार्टी नेपालमा राजतन्त्र ल्याउन वा फाल्न, नेपालमा संघीयता ल्याउन वा फाल्न, नेपाललाई हिन्दु राष्ट्र बनाउन वा धर्मनिरपेक्ष बनाउन जन्मिएको नभई नेपाललाई सुखी, सुशासित, समृद्ध र स्वाभिमानपूर्ण देश बनाउन जन्मिएको बताएका थिए। संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको विषयमा आफू निरपेक्ष रहेको उनको भनाई थियो।
मिश्रको उक्त भनाईलाई भट्टराईले प्रतिगामी भनेका छन्। दशौं हजार जनताले जीवन उत्सर्ग गरेर ल्याएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताप्रति निरपेक्ष रहने सोच प्रतिगामी हुने भट्टराईको बुझाई छ।
मिश्रको भनाई माथि टिप्पणी गर्दै भट्टराईले लेखेका छन्,’मित्र रबिन्द्र मिश्रप्रति सदभाव सहित भन्नैपर्छ दशौं हजार जनताले जीवन उत्सर्ग गरेर ल्याएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताप्रति निरपेक्ष रहने सोच प्रतिगामी नै हो । यस्तो सोच राख्ने शक्ति वैकल्पिक हैन राप्रपाको नयाँ अवतार मात्रै हुनसक्छ सरी ।’’