‘भाइ फुटे गवार लुटे’ भन्ने अवस्थामा पुगे ओली, समाधान मध्यावधि नै हो त ?

काठमाडौं, ३० मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद चर्किएको बेला हिजो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको विरुद्धमा देशभर प्रदर्शन ग¥यो । यसअघि राप्रपा र राजावादीको ब्यानरमा देशैभरि सरकारविरुद्ध प्रदर्शन जारी छ । यसैबीच सरकारले गत मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएर देशभर बढिरहेको संविधानविरोधी क्रियाकलाप र ‘विप्लव’ माओवादीको हिंसात्मक गतिविधि बढेको घटनाप्रति छलफल गरेको छ । तर, दुईतिहाइको नेकपाको विवाद कसरी समाधान गर्ने भन्नेतिर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान जान सकेको छैन ।

राजनीतिक स्थिरता, शान्ति, सुशासनका लागि नेपाली जनताले नेकपालाई दुईतिहाइ मत दिएर पनि त्यसको सदुपयोग सरकारले गर्न नसकेका कारण देशभरि असन्तुष्टि पोखिएको हो भन्ने कुरा पनि सरकारले मनन गरेको छैन । कोभिड–१९ नियन्त्रण गर्ने नाममा गत चैत ११ गते ‘लकडाउन’ गरेदेखि आजसम्म सरकार आन्तरिक विवादमै रमाइरहेको छ । त्यसमाथि सरकारप्रति असन्तुष्ट जनता, जसले कोभिड–१९ मा पिसिआरसम्म निःशुल्क पाएनन् र हप्तौंसम्म पैदलै हिँडेर घर पुग्नुप¥यो, जो विदेशमा रोजगारी गुमाएर स्वदेशमा पनि बेरोजगार बन्नुप¥यो, तिनीहरु अहिले सरकारविरोधी आन्दोलनमा सहभागी भएका छन् । नेकपाको दुईतिहाइको सरकारले कोभिड–१९ को बेला मात्रै जनताको पक्षमा केही राम्रा काम गरेको भए सडकमा व्यवस्था नै उल्टाउने खालका नारा लगाउने थिएनन् ।

के गर्दैछ सरकार ?

प्रधानमन्त्री केपी शर्मा ओली आफैँले संकट निम्त्याएका हुन् । पूर्वमाओवादी केन्द्रसँग पार्टी एकता गर्दा गरेको सहमति बमोजिम पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली हिँडेको भए ओली इतिहासमा सफल राजनेता कहलिन्थे । तर, उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको सहमति तोड्दा ओली आफैँ संकटमा परेका छन् । ओली र प्रचण्डबीचको विवाद मिलाउन भदौ २६ गते स्थायी कमिटीले दिएको १५ बुँदे सहमतिलाई पनि ओलीले उल्लंघन गरेपछि दुई अध्यक्षबीच आरोप प्रत्यारोप चलेको छ । दुई अध्यक्षबीच विवाद हुँदा नियमित सचिवालय बैठकसम्म बस्न सकेको छैन । बसे पनि ओलीको अनुपस्थितिका कारण बैठक अनिर्णयको बन्दी बनेको छ । सचिवालयबाट दुई अध्यक्षको सहमतिमा टुंग्याउनुपर्ने विवाद स्थायी कमिटीमा लगेर छरपष्ट पार्ने काम भएको छ । वास्तवमा भन्ने हो भने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली आफ्नै पार्टीसँग डराउनुपर्ने रक्षात्मक अवस्थामा पुगेका छन् । यो अवस्थाबाट ओली फर्कन सक्ने हो भने मात्र पार्टी र सरकार जोगिनेछ । नभए दुर्घटना हुनबाट कसैले जोगाउन सक्ने छैन ।

के गर्दैछन् प्रचण्ड ?

हिजोआज नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड आफ्नो निवास खुमलटारमै व्यस्त छन् । ओलीले पार्टीमा संकट निम्त्याएपछि त्यसको समाधान कसरी गर्ने भन्ने विषयमा आफूनिकट नेता, कार्यकर्ताहरुसँग छलफल गरिरहेका छन् । खासगरी प्रचण्ड र माधव नेपालबीच दिनहुँ भेटघाट नभए पनि फोन वार्ता भइरहन्छ ।

ओलीले पटक–पटक धोका दिएपछि प्रचण्ड आजित भएका छन् । ओलीले प्रचण्डसँग सम्बन्ध सुधार्न आफूनिकट नेताहरुलाई पटक–पटक खुमलटार पठाए पनि प्रचण्डले तिनीहरुको कुरा पनि पत्याउँदैनन् । प्रचण्ड र नेपाल नेकपा विभाजन हुन नदिन र पार्टीलाई विधि, पद्धतिसम्मत ढंगबाट सञ्चालन गर्ने कुरामा दृढ छन् । उनलाई झलनाथ खनाल र वामदेव गौतमको पनि साथ छ । त्यसैले प्रचण्डले भन्ने गर्छन्– ‘जे निर्णय गर्ने हो अब पार्टीले गर्छ । पार्टीभित्रको विवाद स्थायी कमिटीमा प्रवेश गरेको छ । स्थायी कमिटील जे निर्णय गरे पनि त्यसलाई शिरोपर गर्न म तयार छु ।’ हुन पनि ओलीबाट खानुसम्मको धोका खाएका प्रचण्डले पार्टी जोगिए मात्र आफ्नो राजनीतिक भविष्य देखेका छन् । नेकपामा प्रचण्ड–नेपालको बहुमत भएको हुँदा नेकपाबाट ओली गुट फुटे पनि प्रचण्ड–नेपाल नेकपामै रहन्छन् ।

के गर्दैछन् ईश्वर पोखरेल ?

बिनाविभागीय उपप्रधानमन्त्रीमा सीमित भएका पोखरेल सफल खेलाडी हुन् । पार्टी एकता हुनुभन्दा अगाडिदेखि उनले जे जे भन्दै आएका थिए, ओली अहिले त्यही त्यही गर्दैछन् । पोखरेलले पार्टी एकता हुँदा जो पार्टी अध्यक्ष हुन्छ तिनै प्रधानमन्त्री बन्छ भने । पार्टी एकतापछि ओली–प्रचण्डबीच आधा आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति भएको थियो । त्यो सहमतिविपरीत पोखरेलले ओली नै पाँचै वर्ष प्रधानमन्त्री भनेर अभिव्यक्ति दिए । नभन्दै प्रचण्डले ओलीसँग पाँचै वर्ष प्रधानमन्त्री चलाउने सहमति गरे । अहिले पोखरेलले पूर्व एमाले एक ठाउँमा हुनुपर्छ र जबज विरोधीलाई नेकपाको अध्यक्ष बनाउनु हुँदैन भनेर ओलीको कान फुकिरहेका छन् । ओली, पोखरेलको कुरामा हाँ मा हाँ मिलाएर देशभरि जबज पक्षधरको भेला गरिरहेका छन् । पार्टी एकता गर्दा एकता महाधिवेशनबाट प्रचण्डलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति गरेका ओली नेकपाको अध्यक्ष पोखरेललाई सुम्पने वातावरण तयार गर्दैछन् । ओलीले आफू महाधिवेशनबाट चुनिएर आएको अध्यक्ष हुँ भनेर भनिरहँदा पोखरेलले म पनि त महासचिव चुनिएर आएको हुँ, मलाई बीचैमा हटाउन पाइन्छ ? म माथि यत्रो अन्याय ? भन्ने पोखरेल र ओलीबीच गठजोड बलियो बनेको छ । एकता प्रक्रियालाई टुंगोमा पु¥याउन ओली–प्रचण्ड गठजोड बलियो हुनुपर्नेमा त्यसको उल्टो ओली–पोखरेल गठजोड हुनु एकता प्रक्रिया टुंगोमा पुग्दैन भन्ने निष्कर्ष हो । यही निष्कर्षलाई टुंगोमा पु¥याउन ओली हिँडेकै कारण नेकपा संकट निम्तिएको हो ।

के हुन्छ अब ?

‘भाइ फुटे गवार लुटे’ भन्ने अवस्थामा पुगेको ओलीको फैसला अब स्थायी कमिटी र केन्द्रीय कमिटीले गर्नेछ । हुन त अल्पमत, बहुमतको निर्णय ओलीले मान्दिनँ भन्दैछन्, तर त्यस्तो परिस्थिति आएको खण्डमा उनले अध्यादेश ल्याएर पार्टी फोड्ने अथवा संसद् विघटन गर्ने भन्ने दुईमध्ये एउटा बाटो रोज्नेछन् । दुईतिहाइ निकट नेकपाका अध्यक्ष तथा प्रधानमन्त्रीको हैसियतले संसद् विघटन गर्दा सर्वोच्च अदालतले नमान्न पनि सक्छ । किनभने, नेकपामा ओली संसदीय दलमा पनि अल्पमतमा छन् । त्यसैले बहुमत पु¥याउन उनले माधव नेपाललाई आफूतिर तान्ने प्रयास गरेका छन् । अर्को विकल्प भनेको चालिस प्रतिशत पु¥याएर पार्टी फोड्न अध्यादेश ल्याउनु हो । त्यस्तो परिस्थितिमा ओलीले कि त कांग्रेससँग मिलेर सरकार गठन गर्नुपर्छ, कि त फेरि कसैको बहुमत पुगेन भनेर मध्यावधि निर्वाचनमा जानुपर्छ । नेकपाभित्रको विवादको टुंगोका बारेमा यस्तो व्याख्या विश्लेषण गर्दा मध्यावधिमा जानु ओली र शेरबहादुर देउवालाई फाइदा छ । किनभने, यी दुवैले पद छाड्न चाहेका छैनन् ।

प्रकाशित : मङ्गलबार, मङि्सर ३०, २०७७१३:१७

“मलाई दलहरूले राजा बनाएको होइन, जनताले हटाएको पनि होइन”