राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी, नेकपा विवाद थप चर्किने !

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन्।

राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको हो । अध्यादेश मंगलबार दिउँसो जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवादका कारण संवैधानिक परिषद् बैठक बस्न सकिरहेको छैन। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको संवैधानिक परिषद्को बैठक सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित हुन पुगेको थियो।  त्यस भन्दा अगाडी पनि बैठकमा कोरम नपुगेपछि बैठक स्थगित भएको थियो।

मंगलबार अध्यादेश ल्याइएसँगै सत्तारुढ नेकपा चलिरहेको विवाद थप चर्किने निश्चित जस्तै देखिएको छ। प्रचण्ड-नेपाल पक्षले यस अगाडी नै पार्टीमा छलफल नगरी संवैधानिक परिषद्को बैठक बोलाएको प्रति आपत्ति जनाउँदै आएका थिए। अब प्रधानमन्त्रीले अध्यादेशनै ल्याएपछि नेकपा विवाद थप पेचिली बन्ने निश्चितप्राय छ।

प्रकाशित : मङ्गलबार, मङि्सर ३०, २०७७१४:४३

अध्यादेश जारी भएको प्रति खानेपानी मन्त्रीको आपत्ति !