काठमाडौँ – जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले एक ट्वीट गर्दै प्रधानमन्त्री र राष्ट्रपतिमाथि महाअभियोग लगाउनुपर्ने बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको आरोप लगाउँदै भट्टराईले संसद अधिवेशन बोलाएर महाअभियोग लगाउनु पर्ने बताएका छन्।
प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान तथा व्यवस्थाको खिल्ली उडाइरहँदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू वैठक/वक्तब्यवाजी/गनगन मा व्यस्त हुने भन्दा पनि ‘एक्सन’मा उत्रनु पर्ने भट्टराईको बुझाई छ। ओली र भण्डारीको कदम संविधान विरोधी रहेको आरोप पनि भट्टराईको छ।
भट्टराईले ट्वीट मार्फत भनेका छन्,”महाभारतका दुर्योधनहरूले द्रौपदीको ची’रह’रण गरिरहदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहॅदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू वैठक र वक्तब्यवाजी र गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र रापका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोग तर्फ लाग्ने हो?”
राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र चलिरहेको विवादको साइडइफेक्टको रुपमा ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सर्वत्र आलोचना भएको छ। संविधानकै दुरुपयोग हुनेगरी अध्यादेश ल्याइएको र प्रधानमन्त्रीको हरेक कदमलाई साथ दिएको भन्दै राष्ट्रपतिको पनि चर्को आलोचना भएको छ। यति बेला राष्ट्रपति प्रधानमन्त्रीको रबरस्ट्याम्प बनेको आरोप नेकपा भित्रकै नेताहरुको छ।