मेस्सी र रोनाल्डो ‘फिफा द बेस्ट’ को फाइनालिस्ट बन्न लायक छैनन्

पूर्व म्यानचेस्टर युनाइटेड खेलाडी डिमिटर बर्बाटोभका अनुसार क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी फिफा सर्वश्रेष्ठ पुरस्कारको शिर्ष ३ मा पर्न योग नरहेको बताएका छन्।

कोरोना महामारीको कारण फुटबल जगत निकै प्रभावित भएको भन्दै यस वर्षको सुरुमा फ्रान्स फुटबलले यो वर्ष ब्यालोन डि ओर विजेता घोषणा नहुने जनाएको थियो। तर धेरैले बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की यो पुरस्कारको योग्य भएको तर अवार्ड नहुने भएकोमा दुख समेत व्यक्त गरे।

पोलिश स्ट्राइकर अझै पनि फिफाको पुरुष तर्फको उत्कृष्ट खेलाडी घोषित हुनसक्छन्, जसको विजेता बिहिबार घोषणा हुँदैछ। उक्त पुरस्कारको उत्कृष्ट ३ मा उनीसँगै लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मनोनित छन्। तर म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर बर्बाटोभले भने संयुक्त ११ पटकका बलोन डी ओर जितेका मेस्सी र रोनाल्डो शिर्ष ३ मा पर्न योग नरहेको बताउँछन्।

“रोनाल्डो र मेस्सी फिफा बेस्ट अवार्डका फाइनलिस्टहरु मध्ये एक हुन् भन्नेमा म अचम्मित भएको छु किनकी उनीहरू यसको लागि योग्य छन् भन्ने मलाई लाग्दैन”, बर्बाटोभले बेटफेयरलाई भने।

यो वर्ष बार्यन म्युनिखलाई ट्रेबल जिताउनमा मूख्य भूमिका खेलेका पोलिश स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फिफा बेस्ट पुरस्कार पाउनु पर्ने उनको भनाइ छ। उनले भने, “मलाई लाग्छ कि यो पुरस्कार रोबर्ट लेवान्डोस्कीलाई नै दिनु पर्छ। उनी यसको हकदार छन्।”

बिहिबारको समारोहमा लेवान्डोस्की उक्त पुरस्कारको विजेता घोषित नभएको खण्डमा त्यो लेवान्डोस्कीको अपमान हुने पनि उनले बताए। “मानिसहरु सधैं बहस गर्छन् कि उक्त अवार्ड कसले जित्नु पर्छ भनेर। यी तीन खिलाडीको बारेमा कुरा गर्दा मलाई लाग्छ लेवान्डोस्की पुरस्कार पाउन योग्य छ। उनले जितेन भने यो अन्याय हुनेछ”, बर्बाटोभ भने।

फिफाको द बेस्ट अवार्ड बिहिबार राति नेपाली समय अनुसार ११:४५ मा हुनेछ। उक्त कार्यक्रममा पुरुष तथा महिला दुबै तर्फको उत्कृष्ट खेलाडी घोषणा हुनेछ।

प्रकाशित : बिहिबार, पुष ०२, २०७७१८:१८

‘द बेस्ट’ को लागि रोनाल्डोले मेस्सीलाई भोट गरे, रोनाल्डो भने मेस्सीको सूचीमा परेनन् !