काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पिलो निचोरेर फाल्दैमा तौल नघट्ने टिप्पणी गरेका छन्।
पार्टी भित्र चलिरहेको विवाद चरम उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षिय केन्द्रीय कमिटीको भेलामा पिलो निचोरेर फाल्दैमा तौल नघट्ने टिप्पणी गरेका हुन्।
विभिन्न प्रसंगमा रमाइलो उखान टुक्का त कहिले गीतको केही टुक्रा प्रयोग गर्न सिपालु ओलीले मंगलबार पार्टी भित्रको विवादलाई प्रष्ट पार्दै जनवादी गायक जीवन शर्माको गीत सुनाए।
भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पिलोको संज्ञा दिए।
त्यसक्रममा ओलीले भने,”पिलो निचोरेर फाल्दैमा तौल घट्दैन।”
महाधिवेशन आयोजक कमिटी घोषणा
मंगलबारको भेलाबाट ओलीले केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्। ओलीले घोषणा गरेको केन्द्रीय महाधिवेशन आयोजक कमिटी ११९९ जनाको हुनेछ।
नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी रहेकोमा ओलीले तत्काल ५५६ जना थप र बाँकी १९७ थप गर्न सक्नेगरी केन्द्रीय कमिटी घोषणा गरेको नेकपा ओलीपक्ष श्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीले थप गरिएका नयाँ ५५६ जना केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई शपथ ग्रहण पनि गराएका छन्।