बार्सिलोनामा आफ्नो सम्झौताको अन्तिम ६ महिना बाँकी रहँदा लियोनल मेस्सीले फेरी पनि बार्सिलोना छाड्ने संकेत दिएका छन्। उनले क्लबको स्थितिको बारेमा बोल्दै आफू क्लबमा खुसी नरहेको संकेत गरेका छन्।
गत सिजनको अन्त्यमा मेस्सीले बार्सिलोना छाड्नको लागि क्लबलाई आधिकारिक स्थानान्तरण अनुरोध हस्तान्तरण गर्दै पूरा फुटबल जगतलाई नै चकित पारे।
तर उनको उक्त प्रयास सफल भने भएन। क्लबसँग कानुनी विवादमा पर्न नचाहेको भन्दै मेस्सीले अर्को १ वर्ष बार्सिलोनामै बस्ने निर्णय गरे।
तर हालै मात्र ला सेक्स्टासँग कुरा गर्दै मेस्सीले बार्सिलोना र उनको स्थितिको कुरा गर्दा उनी खुसी देखिएनन्। ” सत्य यो हो कि अहिले मा ठिक छु। यो सहि हो कि गत समरमा मैले निकै कठिन समयको सामना गरे”, मेस्सीले भने,”समर भन्दा पहिले के भयो, कसरी सिजन समाप्त भयो, बुरोफ्याक्स र ती सबैको कारण यस सिजनको सुरुमा मलाई निकै असर गर्यो।”
मेस्सीले थपे,”तर आज म ठिक छु र भविष्यमा आउने सबै कुराको लागि गम्भीरतापूर्वक लड्न तयार छु, म उत्साहित छु।”
“मलाई थाहा छ कि क्लब कठिन समयबाट गुज्रिरहेको छ, क्लब स्तर र बार्सिलोनाको वरिपरिको सबै कुरा, तर म भविष्यको बारेमा सोच्दै छु”, उनले भने।