काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका प्रवक्ता तथा परराष्टमन्त्री प्रदिप ज्ञवालीले ६४ प्रतिशत सांसदको बहुमतका साथ प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताएका छन्।
मंगलबार बालुवाटारमा बसेको ओली पक्षिय स्थायी कमिटीको बैठक बारे जानकारी गराउँदै ज्ञवालीले ६४ प्रतिशत सांसदको बहुमतका साथ प्रधानमन्त्री ओलीले संसद विघटन गरेको दावी गरेका हुन्।
पार्टीभित्रकै केही नेताहरुले आफ्नो व्यक्तिगत चाहाना पूर्तिका कारण सरकार ढाल्न खोजेपछि बाध्य भएर ओलीले संसद विघटनको बाटो रोजेको उनले बताए।
“प्रधानमन्त्री ओलीले ६४ प्रतिशत सांसदको बहुमतको साथ संसद विघटन गर्नुभएको छ। उहाँले पार्टीभित्रकै केही नेताहरुले आफ्नो व्यक्तिगत चाहाना र असन्तुष्टिको कारणले उहाँले संसद विघटन गर्न बाध्य बनाउनुभएको हो।”,उनले भने।
सरकार गठन भएपछि अहिले सम्म गरेका राम्रा काम लिएर आफूहरु जनता समक्ष जान लागेको उनको भनाई छ। संसदलाई पार्टी, देश र जनताको एजेण्डामा केन्द्रीत हुन नदिएकै कारणले संसद विघटन गर्नुपरेको उनले बताए।
“जनताले निर्धारित समयमा काम गर्न हामीलाई जे अपेक्षाका साथ विश्वासले बहुमत दिनुभयो। राज्यको नेतृत्व गर्न जनताले अवसर दिए पनि काम गर्न नसकेको कारणले जनतासामु जानुपर्ने अवस्था आयो। सरकारले गरेको राम्रो काम लिएर नयाँ जन आधार लिन आवश्यक छ।”,उनले भने। मंगलबारको बैठकले कसैलाई कारबाही नगरेको ज्ञवालीले जानकारी दिए।
प्रधानमन्त्री ओलीले आफ्नो अधिकार केन्द्रीय कमिटी विस्तार गर्न र पार्टीलाई गतिशिल बनाउनका लागि विधान समेत संशोधन गर्न प्रयोग गरेको पनि ज्ञवालीले बताए।