नेकपा फुटको प्रभाव : कांग्रेसमा सल्कियो आगो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको फुटको असर नेपाली कांग्रेसमा प्रकट हुन थालेको छ । नेकपा दुई पक्षमा विभाजित भएर आफुलाई आधिकारीक भनिरहेका बेला कांग्रेसमा यही विषयमा चर्को विवाद हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गरेपछि कांग्रेस केन्द्रीय समितिमा अब निर्वाचनमा जाने कि आन्दोलनमा जाने भनेर विवाद हुन थालेको हो । सभापति शेरबहादुर देउवा अब निर्वाचनको तयारीमा जुट्नुपर्ने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल आन्दोलनमा जानुपर्ने पक्षमा उभिएका छन् । जसले गर्दा केन्द्रीय समितिको बैठकमा सभापति देउवा र वरिष्ठ नेता पौडल तथा दुवै पक्षका केन्द्रीय सदस्यबीच चर्काचर्की परेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

बुधबारको केन्द्रीय समितिको बैठकमा बोलेका ४ मध्ये ३ जना केन्द्रीय सदस्यहरुले संविधान र लोकतन्त्र जोगाउन तत्काल आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए । त्यसपश्चात सभापति देउवाले नेकपाको विवादमा निर्वाचन आयोग र अदालतले गर्ने फैसला अनुसार आन्दोलनको रणनीति बनाउन उपयुक्त हुने बताएका थिए । देउवाको भनाईमा असहमत रहेका वरिष्ठ नेता पौडेलले संसद विघटन असंवैधानिक भएको ठहर पार्टीले गरिसकेकोले जनतामा जाने कुनै न कुनै कार्यक्रम घोषणा गर्नुपर्ने बताए ।

उनले केन्द्रीय समिति बैठक लम्बिने भएकाले तत्कालै आन्दोलनमा जानुपर्ने बताएका थिए । तर, सभापति देउवाले बारम्बार नेकपा फुटिनसकेको भन्दै विरोधका कार्यक्रम घोषणा गर्न इन्कार गरे । देउवाले निर्वाचन आयोगले नेकपाका दुई पक्षको चुनाव चिन्हको निर्णय नगर्दासम्म पार्टीले विरोधको कार्यक्रममा जान नहुने बताएपछि पौडेल जंगिएका थिए । पौडेलको भनाईपछि सभापति देउवाले ‘पुस १६ गते मेलमिलाप दिवसको दिन देशव्यापी प्रदर्शन गरौ’ भन्ने प्रस्ताव गरे । जसमा पौडेलले ‘मेलमिलाप दिवसको दिन नभएर अगाडि वा पछाडिको कुनै मितिमा प्रदर्शन गरौं’ भन्ने धारणा राखे । यसलगत्तै देउवा र पौडेल पक्षका नेताहरुबीच बैठकमा चर्काचर्की सुरु भयो । महामन्त्री पूर्णबहादुर खड्काले सभापति देउवा र पौडेललाई दुइजना छुट्टै बसेर टुंगो लगाउन सुझाव दिएका थिए । सह महामन्त्री डा.प्रकाशशरण महतले सभापति बोलेको बेला ‘बीचमै किन बोलेको ?’ भनी वरिष्ठ नेता पौडेललाई प्रश्न गरेका थिए ।

यत्तिकैमा देउवानिकट केन्द्रीय सदस्य शंकर भण्डारी आक्रोशित भए । उनले ‘वरिष्ठ नेताले जे भन्यो त्यही मान्न नसकिने’ जिकीर गरे । भण्डारीले केन्द्रीय समिति नसकिदै आन्दोलनको घोषणा नगर्न र सर्वोच्चको निर्णय कुर्न माग गर्दै वरिष्ठ नेता पौडेलको प्रतिवादमा उत्रिए । पौडेल नजिकै पुगेका भण्डारीलाई अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले रोकेका थिए । ‘मेलमिलाप दिवसको दिन आन्दोलन गर्ने प्रचलन छैन’ पौडेल पक्षका केन्द्रीय सदस्य घिमिरेले प्रतिवाद गरे ।

पौडेल पक्षका नेताहरुले पार्टीभित्र आन्दोलनको पक्षमा उभिएकै कारण सुनियोजित रुपमा प्रतिवाद थालिएको आरोप लगाएका छन् । ‘सभापतिजीको भन्दा फरक धारणा राखियो भन्दैमा प्रतिवाद गर्ने शैली उहाँहरुमा देखियो । बैठकमा जे भयो त्यसले राम्रो संकेत गरेन’, चर्काचर्कीमा मुकदर्शक बनेका एक नेताले भने । केन्द्रीय समितिको बुधबारको बैठकमा डा.रामशरण महत, बलबहादुर केसी र गगन थापाले अदालतको फैसला कुरेर चुपचाप बस्नुभन्दा सडकबाट सरकारलाई चुनौती दिनुपर्ने बताएका थिए । उनीहरुले तत्काल आन्दोलनको कार्यक्रम घोषणा गर्न माग गरेका थिए । देउवा पक्षका केन्द्रीय सदस्य आनन्द ढुंगानाले भने अदालतको क्षेत्राधिकारमा परेको विषयमा सडकमा गइहाल्न आवश्यक नरहेको बताए । कांग्रेस बैठक विहीबार पुनः बस्नेछ ।

बुधबारको बैठकको निर्णयका रुपमा कांग्रेसले पुस १६ गते देशव्यापी प्रदर्शन गर्ने जनाएको थियो । यद्यपि मेलमिलाप दिवसको दिन आन्दोलन नगर्न सभापति देउवा सहमत भएका छन् । ‘मेलमिलाप दिवसको दिन नियमित कार्यक्रम गर्ने र त्यसअगाडि नै प्रदर्शन गर्नेगरी विहीबारको बैठकबाट थप निर्णय गर्ने सल्लाह भएको छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

प्रकाशित : बिहिबार, पुष ०९, २०७७०८:०१

रणवीर र आलियाले विवाह गर्न लागेको हल्लाका बीच आलियाको तर्फबाट आयो यस्तो स्पष्टोक्ति !