प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन्। नेकपा विभाजनपछि मन्त्रिपरिषद बैठक बस्न लागेको यो पहिलो पटक हो।
गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। बैठक आज साँझ ६ बजे बस्ने बताइएको छ। बैठकमा प्रधानमन्त्री ओली मन्त्रिपरिषद पुर्नगठन गर्ने विषयमा छलफल हुने जानकारी छ।
संसद विघटनपछि प्रचण्ड-नेपाल पक्षका ७ मन्त्रीले राजिनामा दिएसँगै अहिले १८ जना मन्त्री र राज्यमन्त्रीहरु छन्। प्रचण्ड-नेपाल पक्षका घनश्याम भुसाल,गिरिराजमणी पोखरेल,योगेश भट्टराई,वर्षमान पुन,शक्ति बस्नेत,रामेश्वर राय यादव र विना मगरले राजीनामा दिएका थिए।
यसैबीच प्रधानमन्त्री ओलीले आजै मन्त्रीमण्डल पुनार्गठन गर्न सक्ने जनाइएको छ। पार्टी दुई समूहमा फुटेपछि खाली रहेको मन्त्री पदमा ओलीले आफ्ना निकट नेतालाई नियुक्त गर्न लागेका हुन्।
रिक्त मन्त्री पदका लागि ओली निकट नेताहरुको नाम अगाडी छ। स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणी थापा लगायत महेश बस्नेत, नवराज सिलवाल र र गोकुल बाँस्कोटाको नाम पनि सूचीमा रहेको बताइएको छ। कर्णालीबाट मोहन बानियाँ र सुदूरपश्चिमबाट प्रेम आले मगरको नाम पनि चर्चामा छ।