नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण गणतन्त्र धरापमा परेको आरोप लगाएका छन्।
प्रचण्ड-नेपाल समूहको केन्द्रिय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले गणतन्त्र धरापमा पारेर संसद विघटन गरेको बताए। प्रचण्डले भने, “असंवैधानिक तरिकाले लोकतन्त्रको निर्ममतापूर्वक हत्या गर्ने प्रयास भएको छ।” प्रचण्डले संसद विघटनलाई तानाशाहीको नाङ्गो रुप रहेको समेत जिकिर गरे।
उनले संसद विघटनका विरुद्धमा आजैबाट आन्दोलन सुरु भएको र उक्त कदमविरुद्ध अन्य दलसँग समेत सहकार्य गरेर जाने बताए। प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेर नेपालको राजनीतिलाई जटिल स्थितिमा पुर्याएको उनको भनाई छ।
संविधानले गरेको व्यवस्था बारे आफू पनि राम्रोसँग जानकार रहेको बताउँदै प्रचण्डले प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमविरुद्ध संयुक्त कार्यक्रम ल्याउने तयारी गरेको समेत जानकारी दिए।
पार्टी एकीकरण गर्दा ४४१ जनाको केन्द्रीय समिति बनाइएको छ। ती मध्य आज निर्वाचन आयोगमा हस्ताक्षर बुझाउँदा २९५ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर आफै पुगेर बुझाएको उनले बताए। । केन्द्रीय सदस्य संख्या दुई तिहाई आफूहरुको पक्षमा रहेको र अर्कोतिर ४० प्रतिशत पनि नपुगेकाले पार्टीको नाम, चुनाव चिन्ह सबै आफ्नो नेतृत्वको नेकपाले पाउनु पर्ने दाबि गरे।