काठमाडौँ – नेपाल कम्यूनिस्ट पार्टी (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहाल र उपाध्यक्ष गौतमबीच शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा करिब एक घण्टा भेट-वार्ता भएको हो ।
पछिल्लो समय नेकपा विभाजनबाट गुज्रिरहेको अवस्था र त्यसले निम्त्याएको घटनाक्रम बारे दुई नेता बीच छलफल भएको खुमलटार निकट श्रोतले जनाएको छ।
छलफलका क्रममा गौतमले आफू एकताको पक्षमा रहेको स्पष्ट पारेका थिए भने उनले आफू प्रतिनिधिसभा विघटनको विरुद्धमा अहिले पनि दृढ रहेको पनि प्रचण्डलाई बताएका थिए।
प्रचण्डलाई गौतमले आफू अझै पनि एकताको प्रयासमा रहेको बताएको गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले बताए। सुवेदीका अनुसार प्रचण्डले गौतमलाई आफूहरुको अभियानमा सहभागी भएर महत्वपूर्व भूमिका खेल आग्रह गरेका थिए।
“तपाई पनि हाम्रो अभियानमा आउनुपर्यो । यसमा तपाईले महत्वपूर्ण भूमिका खेल्नुपर्यो । यो मुभमेन्टलाई मिलेर अगाडि बढाउनुपर्छ।”,छलफलमा प्रचण्डले भनेका थिए,”
जसको जवाफमा गौतमले आफू अहिले एकताको पक्षमा भएकाले कुनै पक्षमा नलाग्ने बताएका थिए। एकता विरोधी काम नगर्न पनि अध्यक्ष प्रचण्डलाई उनको आग्रह थियो।
“म संसद भंगकोविरुद्धमा हो । संसद भंग गरिनुहुँदैन थियो भन्ने हो । तर, तपाईको समूहमा म अहिले आउँदिन । म एकता अभियानमा छु । तपाईहरुले पनि भोली संवाद गर्ने ठाउँ, एकता गर्ने बाटो राखेर मात्रै गतिविधि गर्नुहोला भन्नुभयो।”,प्रचण्डको आग्रहमा गौतमको जवाफ थियो।